काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रतिमा गौतमले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। गौतमले आफ्नो राजनीतिक यात्रा २०४६ सालको जनआन्दोलनदेखि सुरु भएको उल्लेख गर्दै पद्मकन्या क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापति हुँदै नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य र महामन्त्रीको जिम्मेवारी सम्हालेको बताएकी छन्।
उनले नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यका रूपमा काम गर्दै आएको उल्लेख गर्दै आफ्नो राजनीतिक यात्रामा विभिन्न उतार–चढाव आए पनि विचार, विश्वास र प्रतिबद्धतामा विचलन नआएको बताएकी छन्। ‘संघर्ष, सेवा र इमान्दारिता नै मेरो शक्ति, मेरो पहिचान’ भन्ने सन्देशसहित उम्मेदवारी घोषणा गरेकी गौतमले आफूलाई आगामी महाधिवेशनमा थप सशक्त भूमिकामा उभ्याउने बताएकी छन्।
उनले बलियो कांग्रेस र समुन्नत देश निर्माण गर्ने संकल्पसहित सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेको उल्लेख गर्दै आफूलाई साथ, सहयोग, सद्भाव र विश्वास गर्न आग्रह गरेकी छन्।

प्रतिक्रिया