दुबई ।दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाइदुबईको यात्रुवाही विमानमा दुई पाइलटबीच उग्र विवाद भएपछि विमानलाई साउदी अरबतर्फ डाइभर्ट गरिएको छ।
सीएनएनका अनुसार विमान उडिरहेको क्रममा असामान्य रूपमा उचाइ घटाइएको थियो। उडान ट्र्याकिङ डेटाअनुसार विमान करिब ३४ हजार फिटको उचाइबाट केही मिनेटमै १६ हजार ६ सय फिटसम्म झरेको थियो। त्यसपछि विमानबाट आपत्कालीन सङ्केतसमेत पठाइएको थियो।
विमानबाट ‘७५००’ आपत्कालीन कोड प्रसारण भएपछि अपहरण भएको आशंका उत्पन्न भएको थियो। अन्तर्राष्ट्रिय उड्डयनमा ‘७५००’ कोड विमान अपहरण वा गैरकानुनी हस्तक्षेपको सङ्केतका रूपमा प्रयोग हुन्छ। विमानमा २७ बालबालिकासहित १७४ जना यात्रु सवार थिए। घटनापछि इजरायली सुरक्षा अधिकारीले विमान अपहरण नभएको र चालक दलका सदस्यबीचको आन्तरिक विवादका कारण अवस्था असामान्य बनेको बताएका छन्।
आपत्कालीन सङ्केत प्राप्त भएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री इजरायल काट्जले सुरक्षा परामर्श गरेका थिए। इजरायली रक्षा बल ९आईडीएफ० का अनुसार सावधानीस्वरूप लडाकु विमानलाई समेत तयारी अवस्थामा राखिएको थियो।
पछि फ्लाइदुबईको विमानलाई साउदी अरबको ताबुक विमानस्थलतर्फ डाइभर्ट गरिएको र त्यहाँ सुरक्षित अवतरण गरेको बताइएको छ। विमान सुरक्षित अवतरण गरेपछि अपहरणको प्रारम्भिक आशंका हटेको अधिकारीहरूले बताएका छन्। घटनापछि सावधानीस्वरूप इजरायलको बेन गुरियन विमानस्थलबाट हुने उडान केही समय रोकिएको थियो। विमानभित्र पाइलटबीच विवाद हुनुको कारण भने तत्काल सार्वजनिक गरिएको छैन। घटनाबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रतिक्रिया