चोलेन्द्रलाई नियन्त्रणमा लिएको घटनाबारे सरकारसँग कांग्रेसले माग्यो जवाफ

चोलेन्द्रलाई नियन्त्रणमा लिएको घटनाबारे सरकारसँग कांग्रेसले माग्यो जवाफ


काठमाडौं । नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुको कानुनी आधार र कारणबारे सरकारसँग जवाफ मागेको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद नीनु कुमारी कर्णले सुरक्षा चुनौती देखाउँदै जबरालाई नियन्त्रणमा लिएको घटनाले कानुनी प्रक्रिया र राज्यको भूमिकामाथि प्रश्न उठाएको बताइन् ।

उनले भनिन्, ‘पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई मध्यरातमा सुरक्षा चुनौती देखाउँदै प्रहरीले नियन्त्रणमा लिएको घटनाले कानुनी आधारमाथि गम्भीर प्रश्न उठाएको छ । सुरक्षा चुनौती भए राज्यले सुरक्षा दिनुपर्छ, तर नागरिकको स्वतन्त्रता नियन्त्रण गरिन्छ भने त्यसको स्पष्ट कानुनी आधार र प्रक्रिया सार्वजनिक हुनुपर्छ ।’

उनले कसैको विगतको पद, राजनीतिक धारणा वा सार्वजनिक छविका आधारमा संविधानप्रदत्त अधिकार फरक हुन नहुने बताइन् ।

‘कसैले कसुर गरेको भए निष्पक्ष छानबिन र कानुनी प्रक्रियाबाट कारबाही हुनुपर्छ । राज्य संयन्त्रको दुरुपयोग स्वीकार्य हुन सक्दैन,’ उनले भनिन् ।

जबरालाई प्रहरीले ‘सुरक्षा थ्रेट’का कारण नियन्त्रणमा लिएको बताएको थियो । उनलाई करिब १२ घण्टापछि परिवारको जिम्मा लगाइएको थियो ।