काठमाडौं । काठमाडौं महानगर प्रहरीसँगको विवादपछि त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको परिवारसँग सरकारले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै उनका दाइ मदन नेपालीले गुनासो गरेका छन्।
बुधबार गृहमन्त्री सुदन गुरुङसँग भेटका लागि सिंहदरबार पुगेका मदनले तीन महिना बितिसक्दा पनि सम्झौता कार्यान्वयन नभएको बताए।
उनका अनुसार सरकारले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्ने, गणेशकी श्रीमतीलाई रोजगारी, छोरीलाई उच्च शिक्षा तथा परिवारका सदस्यलाई स्वास्थ्य उपचार उपलब्ध गराउने सहमति गरेको थियो। तर, पोस्टमार्टम गरी अन्त्येष्टि गर्नेबाहेक अन्य सहमति कार्यान्वयन नभएको उनको दाबी छ।
‘भाइले प्राण त्याग गरेको तीन महिना भइसक्यो। सम्झौता कार्यान्वयन भएको छैन। म पटक–पटक सिंहदरबार धाइरहेको छु,’ उनले भने। गणेशको मृत्युका कारण परिवार मानसिक पीडामा रहेको बताउँदै मदनले सरकारलाई आश्वासनभन्दा तत्काल सम्झौता कार्यान्वयन गर्न आग्रह गरे।
उनले सम्झौता कार्यान्वयन नभए आफूहरू थप संकटमा पर्ने भन्दै भने, ‘गरिबले मर्ने बाटो रोज्ने विकल्प छैन, हाम्रो भाइले त्यही रोज्यो, हामीले रोज्ने त्यही हो।’

प्रतिक्रिया