काठमाडौं । मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा थप चार जनाको शव भेटिएको छ । बिहीबार दिउँसो र अपराह्न गरी आठ शव भेटिएसँगै हिमपहिरोमा मृत्यु हुनेको संख्या १५ पुगेको हो ।
हिमपहिरोमा हराइरहेका आरोहीको खोज तथा उद्धारमा खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघको टोलीले बिहीबार आठ जनाको शव फेला पारेको हो । उद्धार टोली प्रमुख पासाङ काजी शेर्पाले बिहीबार मात्रै आठ शव भेटिएको जानकारी दिए ।
यसअघि बुधबार तीन जनाको शव भेटिएको थियो । खोज तथा उद्धार टोलीले आश गुरुङ, सुरज राई र पदम मगरको शव फेला पारेको थियो । त्यस्तै, आइतबार र सोमबार गरी वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको थियो ।
मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा असोज ११ गते हिमपहिरो गएको थियो । हिमपहिरोमा १६ जना आरोही हराएका थिए । त्यसमध्ये ११ जना दोस्रो दिन सम्पर्कमा आएका थिए ।
हराएकामध्ये बिहीबार अपराह्नसम्म १५ जनाको शव भेटिएको छ । अब एक जना आरोही अझै हराइरहेका छन् । उनको खोजी तथा उद्धार कार्य जारी रहेको संघले जनाएको छ ।
आरोही पासाङ काजी शेर्पाको नेतृत्वमा ११ जनाको टोली खोज तथा उद्धारमा खटिएको छ । टोलीमा विक्रम कार्की, दावा जंबु शेर्पा, निगिमा टासी शेर्पा, बलराम गोम्बू, काजी शेर्पा, दा नोर्बु शेर्पा, दावा संगे शेर्पा, टार्के शेर्पा र दावा तेन्जी शेर्पा छन् ।

प्रतिक्रिया