९ महिनापछि न्युयोर्कका मेयर मम्दानीलाई ट्रम्प प्रशासनले दियो सुरक्षा क्लियरेन्स

९ महिनापछि न्युयोर्कका मेयर मम्दानीलाई ट्रम्प प्रशासनले दियो सुरक्षा क्लियरेन्स


काठमाडौं । महिनौँको प्रतीक्षापछि न्युयोर्कका मेयर जोहरान मम्दानीले अन्ततः संघीय सुरक्षा क्लियरेन्स पाएका छन् । यससँगै उनले न्युयोर्क सहरको सुरक्षासँग सम्बन्धित खतरा तथा अन्य आपत्कालीन अवस्थाबारे हुने गोप्य ब्रीफिङमा सहभागी हुन पाउने भएका छन् ।

‘अहिले मेरो सुरक्षा क्लियरेन्स छ,’ मम्दानीले बुधबार ब्रुकलिनमा आयोजित अर्को विषयको पत्रकार सम्मेलनमा भने ।

मम्दानीका प्रवक्ता साम रस्किनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ठ्याक्कै कहिले क्लियरेन्स दिएको हो भन्ने खुलाउन चाहेनन् । उनले यो सुविधा यही साता कुनै समयमा प्राप्त भएको मात्रै बताए ।

ट्रम्पसँग मम्दानीले केही दिनअघि मात्रै सौहार्दपूर्ण भेटवार्ता गरेका थिए । ट्रम्पमाथि संघीय सरकारको सुरक्षा क्लियरेन्स प्रक्रियालाई राजनीतिक रूपमा प्रयोग गरेको आरोप लाग्दै आएको छ । तर मम्दानीलाई क्लियरेन्स दिने निर्णयमा उक्त भेटको कुनै भूमिका रहेको संकेत भने छैन ।

मेयरको सुरक्षा क्लियरेन्सको प्रक्रिया अघि बढाएको होमल्यान्ड सेक्युरिटी विभागले मम्दानीको क्लियरेन्समा ढिलाइ हुनुको कारणबारे केही बताउन अस्वीकार गरेको छ । उसले पृष्ठभूमि जाँच गर्ने जिम्मेवारी रहेको एफबीआईतर्फ प्रश्न पठाएको छ । एफबीआईले भने यस विषयमा तत्काल प्रतिक्रिया दिएको छैन ।

स्थानीय समाचार संस्था गोथमिस्टले यसै महिनाको सुरुवातमा मम्दानीले सुरक्षा क्लियरेन्सका लागि आवेदन दिएको लामो समय भइसकेको र न्युयोर्कका मेयरका लागि यो प्रतीक्षा असामान्य रूपमा लामो भएको समाचार प्रकाशित गरेको थियो । उनले जनवरीमा कार्यभार सम्हालेपछि केही समयमै आवेदन दिएका थिए ।

तर मम्दानीले क्लियरेन्स पाउन लागेको नौ महिनाको समय संघीय सुरक्षा क्लियरेन्स जारी गर्ने प्रक्रियामा देखिएको व्यापक ढिलाइको प्रवृत्तिबीच आएको हो ।

सरकारी जवाफदेहिता कार्यालय (जीएओ)को तथ्यांकअनुसार आर्थिक वर्ष २०२५ को दोस्रो छमाहीमा संघीय निकायहरूले ९० प्रतिशत सुरक्षा क्लियरेन्स स्वीकृत गर्न औसत २०६ दिन अर्थात् करिब सात महिना लगाएका थिए । सरकारले तोकेको ११४ दिनको लक्ष्यभन्दा यो ९२ दिन बढी हो ।

मम्दानीका लागि सुरक्षा क्लियरेन्सको अर्थ अब उनी एफबीआईलगायत संघीय निकायले आयोजना गर्ने सुरक्षा खतरासम्बन्धी गोप्य ब्रीफिङमा सहभागी हुन पाउनेछन् । यसअघि उनी यस्ता बैठकमा सहभागी हुन पाएका थिएनन् । तर उनको प्रशासनका प्रमुख सदस्यमध्ये एक मुख्य कानुनी सल्लाहकार राम्जी कासेमसँग भने यसअघि नै सुरक्षा क्लियरेन्स भएकाले त्यस्ता ब्रीफिङमा सहभागी हुने अनुमति थियो ।

मम्दानीले लामो समयसम्म सुरक्षा क्लियरेन्स नपाएको विषय ट्रम्प प्रशासनले सुरक्षा क्लियरेन्स प्रक्रियालाई राजनीतिक प्रतिशोधका लागि प्रयोग गरेको आरोप लागिरहेका बेला आएको थियो । गत वर्ष ट्रम्प प्रशासनले ट्रम्पले ‘षड्यन्त्र’ भन्दै आएका विभिन्न अनुसन्धानमा संलग्न दर्जनौँ वर्तमान तथा पूर्व सरकारी अधिकारीको सुरक्षा क्लियरेन्स रद्द गरेको थियो । त्यसमा सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पको अभियान र रुसबीचको सम्बन्धबारे भएको एफबीआई अनुसन्धान पनि समावेश थियो ।

हाल ट्रम्प र मम्दानीबीच निकै सौहार्दपूर्ण सम्बन्ध विकास भए पनि गत वर्षसम्म उनीहरू एकअर्काका कडा आलोचक थिए । त्यतिबेला मम्दानीले ट्रम्पलाई नियमित रूपमा ‘तानाशाह’ र ‘फासिस्ट’ भन्ने गरेका थिए ।