काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढे अहिलेको धक्काबाट माथि उठ्न सकिने बताएका छन् ।
शुक्रबार पार्टी कार्यालय च्यासलमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूलाई शपथग्रहण गराउँदै ओलीले मुलुकको समृद्धिको महान् उद्देश्य बोकेर अघि बढेको पार्टीलाई कहिलेकाहीँ धक्का पर्न सक्ने बताए । उनले सानातिना विषय र इगोमा नअल्झिन पनि पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
ओलीले भने, ‘देशको विकास हुन नदिने तत्वहरूले हाम्रो अभियानलाई रोक्ने, भड्काउने कोसिस गरे, पार्टीलाई बदनाम गरे तर नीतिहरूको बारेमा उनीहरू चर्चा गर्दैनन् ।’
उनले एमालेले विकासमुखी, जनमुखी, जनकेन्द्रित र राष्ट्रिय उत्थानलाई केन्द्रमा राखेर आर्थिक नीति ल्याएको दाबी गरे ।
‘पुँजीवादी पक्षले पनि आर्थिक नीतिको बारेमा दबेको स्वरमा खुसखुस गरेर विरोध गर्नु बेग्लै हो तर नीतिहरूको बारेमा खासै आलोचना गर्न सक्दैनन्,’ ओलीले भने । उनले बजारलाई खुला राख्दै राज्यलाई उत्तरदायी बनाउने नीति एमालेले अघि सारेको बताए ।
ओलीले देशमा ‘प्रतिगमन’ भएको दाबी गर्दै पार्टीलाई अहिले केही धक्का लागेको भए पनि त्यसबाट उठेर पुनः अघि बढ्न सकिने बताए ।
‘देशमा प्रतिगमन छ, एकछिन धक्का लागेको छ । तर हाम्रो पार्टी यस्तो महान् उद्देश्य राखेर अगाडि बढेको छ । त्यसकारण सानातिना कुरामा नअल्झिऊँ, इगोमा नअल्झिऊँ, नफसौँ । महान् उद्देश्यमा फराकिलो मनका साथ अगाडि बढौँ,’ उनले भने ।
उनले कहिलेकाहीँ धक्का लागे पनि त्यसबाट उठेर पुनः सफलताको बाटोमा अघि बढ्न सकिने बताए ।
अध्यक्ष ओलीले नवनियुक्त केन्द्रीय सदस्यहरूलाई नेतृत्वदायी भूमिका निर्वाह गर्दै समाजमा ‘आदर्श व्यक्ति’ का रूपमा स्थापित हुन आग्रह गरे । उनले कसैसँग गलत व्यवहार नगर्न र गलत आचरणबाट टाढा रहन पनि निर्देशन दिए ।
उनले रिसाउने बानीसमेत त्याग्न आग्रह गर्दै कूकर्मबाट जोगिनुपर्ने बताए । ‘रिसाउने बानी घरको खोपामा राख्नुहोस् । कूकर्मबाट जोगिनुपर्छ, किनकि हामी एमाले हौँ,’ ओलीले भने ।

प्रतिक्रिया