काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनको पूर्वसन्ध्यामा केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा उम्मेदवारी दिने व्यक्तिका लागि विधानले तोकेको प्रावधानबारे स्मरण गराएको छ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले शनिबार विज्ञप्ति जारी गर्दै कांग्रेसको विधान २०१७ (संशोधनसहित) अनुसार पार्टीको कुनै तहको अधिवेशनमा प्रतिस्पर्धा गरेको व्यक्ति सोही अवधिमा आफूले प्रतिस्पर्धा गरेको तहभन्दा माथिल्लो वा तल्लो तहको कुनै पनि कार्यसमितिको पदमा उम्मेदवार हुन नपाउने व्यवस्था रहेको स्पष्ट गरेका छन्।
समितिले आसन्न १५औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी दिने व्यक्ति त्यसपछि हुने प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने जनाएको छ।
‘पार्टीको कुनै तहको अधिवेशनमा प्रतिस्पर्धा गरेको व्यक्ति सोही अवधिमा सोभन्दा माथिल्लो वा तल्लो तहको कुनै पनि कार्यसमितिको पदमा उम्मेदवार हुन नपाउने’ वैधानिक व्यवस्था रहेको उल्लेख गर्दै समितिले त्यसलाई उम्मेदवार तथा प्रतिनिधिहरूलाई पुनः स्मरण गराएको हो।
त्यस्तै, पदेन महाधिवेशन प्रतिनिधि तथा भ्रातृ संघ र शुभेच्छुक संस्थाबाट आएका पदेन प्रतिनिधिले महाधिवेशनमा केन्द्रीय कार्यसमितिको पदमा उम्मेदवारी दिन नपाउने व्यवस्था पनि निर्वाचन समितिले स्पष्ट पारेको छ।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन आइतबार असोज १८ गते काठमाडौंको खुलामञ्चमा हुँदै छ। महाधिवेशनको उद्घाटन दिउँसो २ बजे गर्ने कार्यक्रम छ।
करिब ७ हजार प्रतिनिधि सहभागी हुने महाधिवेशनमा असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन गर्ने कार्यतालिका छ। बन्दसत्रमा राजनीतिक, सांगठनिक, समसामयिक तथा नीतिगत प्रस्तावमाथि प्रदेशगत समूहमा छलफल गर्ने तयारी गरिएको छ।
महाधिवेशनको पूर्वसन्ध्यामा विभिन्न पदमा आकांक्षीहरूको संख्या बढ्दै गएको छ भने नेतृत्व चयन र संगठनात्मक रूपान्तरणका विषयमा कांग्रेसभित्र छलफल तीव्र बनेको छ।

प्रतिक्रिया