काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार ढल्ने हल्लाको पछि नलाग्न आग्रह गर्दै सरकार परिवर्तन गर्ने माध्यम निर्वाचन मात्रै हुनुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै लामिछानेले लोकतन्त्रको रक्षाका नाममा आन्दोलनबाट सरकार ढाल्ने प्रयास गर्न नहुने बताए ।
उनले भने, ‘ढल्न त ढल्छ, तर यो पटक–पटक सरकार ढल्छ भन्ने मान्छे चाहिँ सरकार नढलेको देखेर बेहोस भएर ढल्छ, सरकार ढल्दैन, बिल्कुल ढल्दैन । किनकि हामीले यसपटक व्यक्तिलाई चुनेका होइनौँ, इतिहासलाई साक्षी राखेर इतिहास बदल्ने प्रेरणासहित सरकार गठन गरेका हौँ ।’
लामिछानेले लोकतन्त्रको रक्षा राजनीतिक दलले मात्र गर्ने नभई जनताले गर्ने बताए । लोकतन्त्रका विधि र मूल्य–मान्यतालाई कमजोर पार्ने काम गर्न नहुने उनको भनाइ थियो ।
‘आन्दोलनबाट सरकार ढाल्नेतिर अब नलागौँ, अब चुनावबाट मात्रै सरकार फेरौँ । चुनावले सरकार फेराउँछ,’ उनले भने ।
उनले निर्वाचनबाट बनेको सरकार र जनमतलाई विदेशी चलखेल, सुरक्षा निकाय वा अन्य कारण देखाउँदै कमजोर पार्ने अभिव्यक्ति नदिन राजनीतिक दलहरूलाई आग्रह गरे । जनताले दिएको मतको सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।
लामिछानेले कांग्रेसको इतिहासको प्रशंसा गर्दै पार्टीको सबैभन्दा ठूलो शक्ति इतिहास भएपनि त्यही इतिहास कमजोरी बन्न सक्ने बताए । उनले कांग्रेसले पुरानो पुस्ता र नयाँ पुस्ताबीच सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।
‘मलाई विश्वास छ सहकार्यको यो सिलसिला निरन्तर अगाडि बढ्नेछ । सहकार्यको यो सिलसिलालाई रास्वपाले सँधै अङ्गीकार गर्नेछ र लोकतन्त्र र परिवर्तनको पक्षमा हरेक कदममा कदम मिलाएर हिँड्ने प्रतिबद्धता पनि म आज यहाँहरूसमक्ष प्रस्तुत गर्न चाहन्छु,’ उनले भने ।
लामिछानेले वर्तमान सरकारप्रति राजनीतिक दलहरूले व्यक्त गरेका चिन्तालाई आफूले जायज रूपमा लिएको बताए । अन्तर्राष्ट्रिय सम्बन्ध, अर्थतन्त्र, पुँजीबजार र सरकारको कार्यदिशाबारे उठेका प्रश्नलाई सरकारले गम्भीरतापूर्वक लिएको उनको भनाइ थियो ।
उनले रास्वपा लोकतन्त्रका मूल्य र मान्यताबाट विचलित नहुने दाबी गरे ।
लामिछानेले सरकार र पार्टीको कामलाई छुट्टाछुट्टै जिम्मेवारीका रूपमा अघि बढाइएको स्पष्ट पारे । पार्टीका गतिविधि सभापतिले र सरकारका गतिविधि प्रधानमन्त्रीले हेर्ने भएकाले प्रधानमन्त्री पार्टी बैठकमा सहभागी नहुने विषयलाई अस्वाभाविक रूपमा प्रचार नगर्न उनले आग्रह गरे ।
उनले आगामी निर्वाचनसम्म सरकारले काम गर्ने अवसर पाउनुपर्ने बताए । रास्वपाले राम्रो काम गर्न नसके अर्को निर्वाचनमा जनताले आफूहरूलाई पराजित गर्न सक्ने उनको भनाइ थियो ।
‘हामी परिवर्तनका लागि अर्को चुनावसम्मको प्रतीक्षा गर्न सक्छौँ । कम्तीमा लोकतान्त्रिक दल भएका हिसाबले नेपाली कांग्रेसले अर्को चुनावसम्मको प्रतीक्षा गर्न सक्छ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने ।
लामिछानेले कांग्रेसलाई व्यक्ति बचाउन वा व्यक्ति फसाउँदै लोकतन्त्र कमजोर पार्ने काम नगर्न आग्रह गरे ।

प्रतिक्रिया