कांग्रेस केन्द्रीय सदस्यमा विश्वदीप लामिछानेको उम्मेदवारी

कांग्रेस केन्द्रीय सदस्यमा विश्वदीप लामिछानेको उम्मेदवारी


काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वदीप लामिछानेले पार्टीको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

लामिछानेले केन्द्रीय सदस्य (पेसागत विषय विज्ञ) पदमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले ‘अनुभव, क्षमता र प्रविधिको सङ्गम : समावेशी कांग्रेस, समृद्ध नेपाल’ भन्ने नारासहित उम्मेदवारी अघि सारेका छन् ।

लामिछाने केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका पूर्व केन्द्रीय सदस्य हुन् । उनी कांग्रेसको पूर्व डिजिटल प्रचारप्रसार संयोजकसमेत भइसकेका छन् । काठमाडौं क्षेत्र नम्बर ३ का प्रचारप्रसार संयोजक रहेका उनले कान्तिपुरलगायत टेलिभिजनमा व्यवस्थापकीय नेतृत्वमा रहेर काम गरेको अनुभव छ । उनी भिजुअल इफेक्ट्सतर्फ ‘इसेज अवार्ड २००८’ का विजेतासमेत हुन् ।

डिजाइन, एनिमेसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा समेत अनुभव रहेका लामिछानेले पार्टीको संगठन र सञ्चार प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्ने योजना अघि सारेका छन् ।

उनको अवधारणामा वडा तहदेखि केन्द्रसम्म दुईतर्फी सूचना आदानप्रदान सहज बनाउन डिजिटल संयन्त्र निर्माण गर्ने उल्लेख छ । पार्टीका नीति, कार्यक्रम, तालिम तथा सूचनामा कार्यकर्ताको सहज पहुँच स्थापित गर्न प्रविधिको प्रयोग गर्ने उनको योजना छ ।

त्यस्तै, एउटै आधिकारिक स्रोतबाट तयार हुने पार्टीका विषयवस्तुलाई एआईको सहयोगमा विभिन्न ढाँचा र भाषामा रूपान्तरण गरी प्रचारप्रसार गर्ने अवधारणा उनले अघि सारेका छन् । प्रतिवेदनको सार तयार पार्ने, दस्ताबेज बनाउने तथा दोहोरिने काममा एआईको प्रयोग गरी समय बचत गर्ने र कार्यकर्तालाई जनसम्पर्कमा बढी केन्द्रित गराउने उनको प्रस्ताव छ ।

लामिछानेले ‘सुन्ने कांग्रेस’ को अवधारणासमेत अघि सारेका छन् । यसअन्तर्गत जनताका प्रश्न, सुझाव र समस्यालाई डिजिटल माध्यमबाट संकलन गरी सम्बन्धित पार्टी तहसम्म पुर्‍याउने व्यवस्था गर्ने उनको योजना छ ।

डिजिटल मिडिया तथा एआई क्षेत्रमा आफ्नो अनुभवलाई पार्टी संगठनमा उपयोग गर्दै कांग्रेसलाई प्रविधिमैत्री र जनतासँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यले उम्मेदवारी दिएको लामिछानेले बताएका छन् ।