कांग्रेस महामन्त्रीमा डिला संग्रौलाको उम्मेदवारी, अघि सारिन् पाँच सूत्रीय संकल्प

कांग्रेस महामन्त्रीमा डिला संग्रौलाको उम्मेदवारी, अघि सारिन् पाँच सूत्रीय संकल्प


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा निवर्तमान सहमहामन्त्री तथा नेपाल महिला संघकी पूर्वअध्यक्ष डा. डिला संग्रौला पन्तले महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।

राष्ट्रियसभा गृहमा पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् । उम्मेदवारी दर्तापछि उनले पार्टीको वैचारिक, सांगठनिक र नीतिगत रूपान्तरणका लागि आफ्नो प्रतिज्ञापत्रसमेत सार्वजनिक गरेकी छन् ।

कांग्रेसको गौरवशाली इतिहास, लोकतान्त्रिक मूल्यमान्यता र बीपी कोइरालाको सिद्धान्तलाई आत्मसात गर्दै पार्टीलाई आधुनिक र प्रविधिमैत्री बनाउने अठोट उनले व्यक्त गरेकी छन् ।

प्रतिज्ञापत्रमा संग्रौलाले विद्यार्थी राजनीति, महिला संघको नेतृत्व, संविधानसभा सदस्य तथा केन्द्रीय सहमहामन्त्रीका रूपमा हासिल गरेको अनुभवलाई पार्टीको कार्यकारी भूमिकामा उपयोग गर्ने बताएकी छन् ।

उनले कांग्रेसलाई परम्परागत ढर्राबाट मुक्त गर्दै पारदर्शी र प्रविधिमैत्री ‘डिजिटल कांग्रेस’ बनाउने, पार्टीभित्रका गुट–उपगुट अन्त्य गरी योग्यता र योगदानका आधारमा अवसरको न्यायोचित वितरण गर्ने प्रतिबद्धता जनाएकी छन् । साथै, सदन र सडक दुवै माध्यमबाट जनताका दैनिक समस्या, महँगी, बेरोजगारी र भ्रष्टाचारविरुद्ध खरो उत्रिने संगठन बनाउने उनको भनाइ छ ।

महामन्त्री पदका लागि उनले सुदृढ, प्रविधिमैत्री र गतिशील संगठन निर्माण गर्ने पाँच सूत्रीय संकल्प अघि सारेकी छन् । जसमा क्रियाशील सदस्यता प्रणालीलाई पूर्ण पारदर्शी र डिजिटल बनाउने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गर्दै सुशासन अभिवृद्धि गर्ने तथा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलतासँग जोड्ने नीति समावेश छन् ।

त्यस्तै, पार्टीका निर्णयक तहमा ३३ देखि ५० प्रतिशतसम्म महिलाको अर्थपूर्ण उपस्थिति सुनिश्चित गर्ने, बीपीको समाजवादको समसामयिक व्याख्या गर्दै नयाँ आर्थिक ढाँचा कार्यान्वयन गर्ने र मूल्यांकनका आधारमा निष्ठावान् कार्यकर्तालाई जिम्मेवारी दिने परिपाटी बसाल्ने उनले बताएकी छन् ।

नेपालको समृद्धिमा प्रवासी नेपालीको योगदानको कदर गर्दै ‘एक पटकको नेपाली, सधैंको नेपाली’ अवधारणा कार्यान्वयनका लागि कांग्रेसले पहल गर्ने पनि उनले जनाएकी छन् ।

संग्रौलाले विशेष महाधिवेशन र त्यसअघि पनि कांग्रेसभित्र सुधार तथा रूपान्तरणका लागि आवाज उठाउँदै आएको स्मरण गर्दै महामन्त्री पदमा आफूलाई विजयी गराउन महाधिवेशन प्रतिनिधिहरूसँग अपिल गरेकी छन् ।