कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक

कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक


काठमाडौँ। नेपाली कांग्रेसको १५ महाधिवेशनमा पदाधिकारीलगायत विभिन्न पदमा उम्मेदवारी दिएकाको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको प्रथम नामावली सार्वजनिक गरेको हो । सभापति एक, वरिष्ठ उपसभापति एकसहित चार उपसभापति, महामन्त्री तीन, सहमहामन्त्री १५, कोषाध्यक्ष एक गरी २४ जना पदाधिकारी हुने व्यवस्था गरिएको छ ।

सहमहामन्त्रीमा चार जना र कोषाध्यक्ष एक जना सभापतिले मनोनित गर्ने व्यवस्था छ । त्यसअनुसार निर्वाचित हुने पदाधिकारी सङ्ख्या १९ जनाको हुनेछ । निर्वाचन समितिले सार्वजनिक गरेको सूचीअनुसार १९ जना पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेको छ ।

पार्टी सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ । सभापति पदमा वर्तमान सभापति गगन थापा, पूर्वसहमहामन्त्री किशोरसिंह राठोर र पूर्वक्षेत्रीय सभापति श्यामकृष्ण खड्गीको उम्मेदवारी परेको छ ।

यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापति (दुई पदका लागि) गोविन्द भट्टराई, डा चन्द्रकान्त भण्डारी, प्रा डा चन्द्रमोहन यादव, दीपक गिरी, देवराज चालिसे, धनराज गुरुङ, मधु आचार्य, डा मिनेन्द्रप्रसाद रिजाल र सुरेन्द्रराज पाण्डेको उम्मेदवारी परेको छ । महिला उपसभापति (एक पदका लागि) पुष्पा भुसाल, समावेशी उपाध्यक्ष (एक पदका लागि) जीवन परियार, फरमुल्लाह मन्सुर, विनोदकुमार चौधरी, रञ्जित कर्ण र सीता गुरुङको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, खुला महामन्त्री (दुई पदका लागि) अमरसिंह पुन, उदयशम्शेर राणा, गुरुराज घिमिरे, नैनसिंह महर, प्रदीप पौडेल, डा सुनिल शर्मा र डा सन्तोष उपाध्यायको उम्मेदवारी परेको छ भने महिला महामन्त्रीमा डा डिला सङ्ग्रौला पन्त, महालक्ष्मी उपाध्याय (डिना) र रीता खनालको उम्मेदवारी परेको छ ।

यस्तै, १४ सहमहामन्त्री पदमा सहमहामन्त्री महिलातर्फ (एक पदका लागि) नानु बाँस्तोला र प्रतिमा गौतम, सहमहामन्त्री खुला (दुई पदका लागि) अजयबाबु शिवाकोटी, अमृतकुमार अर्याल, देवेन्द्र कँडेल, दिनेश कोइराला, डिल्लीराम सुवेदी, विकास कोइराला, विमलराज क्षेत्री, रमेशप्रसाद धमला, रामहरि खतिवडा र राजीव ढुङ्गानाले उम्मेवारी दिनुभएको छ ।

त्यसैगरी, सहमहामन्त्री आदिवासी जनजाति (एक पदका लागि) ओमबहादुर घर्तीमगर, तारामान गुरुङ, दिलमान पाख्रिन, प्रशान्तमान सिंह मास्के र बहादुरसिंह लामाको उम्मेवारी परेको छ भने सहमहामन्त्री दलिततर्फ (एक पदका लागि) नरेन्द्र पासवान, प्रकाश रसाइली स्नेही, मानबहादुर नेपाली र लक्ष्मी परियारको उम्मेवारी परेको छ ।

यस्तै, मधेसी सहमहामन्त्री (एक पदका लागि) अजयकुमार चौरासिया, अभिषेकप्रताप शाह, किरण यादव, नागिना यादव, मनिषकुमार मिश्र, महेन्द्र यादव, मुक्ताकुमारी यादव र रामपल्टन शाहको उम्मेवारी परेको छ भने खस आर्यतर्फ सहमहामन्त्री (एक पदका लागि) जगदीश्वरनरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेतको उम्मेवारी परेको निर्वाचन समितिले जनाएको छ ।

सहमहामन्त्री थारूतर्फ (एक पदका लागि) तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरीको उम्मेवारी परेको छ भने सहमहामन्त्री मुस्लिमतर्फ (एक पदका लागि) अतहर कमाल मुसलमान, अब्दुल सत्तार र डा फिरदोस आलमको उम्मेवारी परेको छ । त्यसैगरी, सहमहामन्त्री पिछडिएको क्षेत्र (एक पदका लागि) जीवनबहादुर शाही, कर्णबहादुर बुढा, जनकराज गिरी, रामबहादुर विष्ट, नारायणप्रसाद भट्टराई, मीनबहादुर भाम र राजन कुँवरको उम्मेवारी परेको छ ।

यस्तै, सहमहामन्त्री अल्पसङ्ख्यक वा अपाङ्गतातर्फ (एक पदका लागि) आङगेलु शेर्पा, नगेन्द्रकुमार कुमाल, बाबुकृष्ण सापकोटा र योगेश गौचन थकालीको उम्मेवारी परेको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी, केन्द्रीय सदस्यमा पनि उल्लेख्य मात्रामा उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । प्रथम नामावलीमा कुनै दाबीविरोध रहेमा प्रक्रियासम्मत दाबी विरोधका लागि आज बिहान १०ः०० देखि १२ः०० बजेसम्मका लागि समय तोकिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो ।