काठमाडौं । आश्विन शुक्ल प्रतिपदाका अवसरमा आज हनुमानढोकास्थित नासल चोकमा रहेको दशैंघरमा घटस्थापना गरिएको छ ।
बिहान ११ बजेर ४७ मिनेटको शुभ साइतमा विधिपूर्वक घटस्थापना गरिएको हो । सो अवसरमा नेपाली सेनाको गुरुजुको पल्टनले मङ्गल धुन बजाउनुका साथै हर्षबढाइँ गरेको थियो । घटस्थापनासँगै हिन्दु नेपालीको प्रमुख चाड बडादशैं सुरु भएको छ ।
बडादशैंको पहिलो दिन घटस्थापनामा शुभ साइत पारेर घरघरमा जमरा राख्ने परम्परा छ । यस दिन बिहान नित्यकर्म सकेपछि नदी वा चोखो स्थानबाट बालुवा ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशैंघरमा विधिपूर्वक जौ, धान, मकै लगायतका अन्न छरेर जमरा राखिन्छ ।
घटस्थापनामा राखिएको जमरा र विजया दशमीका दिन लगाइने टीका बडादशैंका प्रमुख धार्मिक परम्परा हुन् । विजया दशमीका दिन दुर्गा भवानीको प्रसादका रूपमा टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने चलन छ ।

प्रतिक्रिया