काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को प्रदर्शन दोस्रो दिन पनि जारी छ ।
प्रमुख निर्वाचन अधिकारीको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएको भारतको जेनजी नेतृत्वको यो समूहका नेताहरू रिहा भएपछि पनि आन्दोलन जारी राख्ने प्रतिबद्धता जनाएका छन् । हजारौँ सुरक्षाकर्मी परिचालन गरिएका छन् भने सडकमा अवरोध खडा गरिएको छ ।
भारतका प्रधानन्यायाधीशले बेरोजगार युवालाई ‘कक्रोच’ अर्थात् साङ्लासँग तुलना गरेपछि मे महिनामा अभियान सुरु गरेका अभिजित दिप्के र अन्य नेताहरूलाई शनिबार नयाँदिल्ली आइपुग्नेबित्तिकै पक्राउ गरिएको थियो । उनीहरू आइतबार रिहा भएका छन् ।
रिहाइपछि पहिलोपटक प्रतिक्रिया दिँदै दिप्केले भने, ‘सीजेपी पछि हट्ने छैन र धम्कीबाट डराउने पनि छैन ।’
मिडिया रिपोर्टअनुसार शनिबार सात हजार प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर रिहा गरिएको थियो । आइतबार पनि सयौँ प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ ।
भारतमा राजनीतिक दलका रूपमा दर्ता नभएको सीजेपीले महत्त्वपूर्ण राज्यहरूमा चुनाव हुन केही महिना मात्र बाँकी रहँदा निर्वाचन सुधारको माग गरिरहेको छ ।
मतदाता सूचीमा हेरफेर गरेको आरोप लगाउँदै उसले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामासमेत मागेको छ । तर निर्वाचन आयोगले मतदाता सूचीमा हेरफेर गरेको आरोप अस्वीकार गरेको छ ।
आइतबार बिहान दिप्के र सीजेपीका अन्य दुई वरिष्ठ नेता सौरभ दास तथा आशुतोष रंकालाई मजिस्ट्रेट अदालतले रिहा गरेको प्रहरीले जनाएको छ । उनीहरूलाई ‘एक वर्षसम्म शान्ति भङ्ग हुने गतिविधिमा संलग्न नहुने सर्तमा’ रिहा गरिएको हो ।
रिहाइपछि दिप्केले सामाजिक सञ्जाल एक्समा लेखे, ‘प्रधानमन्त्रीका रूपमा मोदी भारतका लागि लज्जाको विषय हुन् ।’
अर्को पोस्टमा उनले आफू गाउँ जान लागेको बताएका छन् । आफू पक्राउ परेको समयतिरै निधन भएकी हजुरआमाको अन्त्येष्टिमा सहभागी हुन गाउँ जान लागेको उनले उल्लेख गरेका छन् । उनले फेरि भनेका छन्, ‘सीजेपी पछि हट्ने छैन र धम्कीबाट डराउने पनि छैन ।’
त्यसपछि रंका र दासले पत्रकार सम्मेलन गर्दै अदालतले राखेको सर्तको अर्थ आफूहरूले प्रदर्शन गर्न नपाउने भन्ने नहुने बताए ।
‘शान्तिपूर्ण प्रदर्शन गर्नु हाम्रो संवैधानिक अधिकार हो । जन्तरमन्तर प्रदर्शनका लागि तोकिएको स्थल हो । त्यसैले यो सर्तको अर्थ हामीले शान्तिपूर्ण प्रदर्शन गर्न पाउँदैनौँ भन्ने होइन,’ रंकाले भने ।
‘शान्ति भङ्ग गर्ने काम प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले गरिरहेका छन्,’ उनले भने । सीजेपीले प्रदर्शन जारी राख्ने पनि उनले बताए ।
शनिबार विमान अवतरण हुनासाथ प्रहरी अधिकारीहरू विमानभित्र प्रवेश गरेर दिप्के, दास र रंकालाई पक्राउ गर्न खोज्दा नाटकीय दृश्य देखिएको थियो ।
आइतबार लगातार दोस्रो दिन पनि मध्यदिल्लीका अधिकांश सडकमा अवरोध खडा गरिएको थियो । कार्यालय, पसल र रेस्टुरेन्ट बन्द थिए भने इन्टरनेट सेवामा समेत प्रतिबन्ध लगाइएको थियो ।
दिल्लीको सबैभन्दा व्यस्त व्यापारिक तथा मनोरञ्जन केन्द्रमध्ये एक कन्नट प्लेसमा टाढाटाढासम्म पहेँला प्रहरी अवरोध देखिन्थे । ती अवरोधमा हजारौँ प्रहरी र अर्धसैनिक बलका सुरक्षाकर्मी तैनाथ थिए ।
प्रदर्शनकारी लगातार दोस्रो दिन पनि उक्त क्षेत्रमा फर्किएका थिए । तर उनीहरूको तुलनामा सुरक्षाकर्मीको सङ्ख्या निकै बढी थियो । बीबीसीले त्यहाँ धेरै प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको देखेको जनाएको छ ।
केही प्रदर्शनकारीलाई बसमा राखेर अन्यत्र लगिएको थियो । बसभित्र रहेका केहीले झ्यालबाट बाहिर चियाइरहेका थिए भने केहीले बाहिर निस्कने प्रयास गर्दै ‘ज्ञानेशले राजीनामा दिनुपर्छ’ भन्दै नाराबाजी गरिरहेका थिए । एक समय पूरै बसमा यस्तै नाराको आवाज गुञ्जिएको थियो ।
समय–समयमा प्रदर्शनकारीका साना समूह प्रहरी अवरोध पार गरेर सडकमा दौडिन सफल हुन्थे । प्रहरी उनीहरूलाई पछ्याउँदै जान्थ्यो । केही क्षणमै उनीहरूलाई घेराबन्दी गरेर नियन्त्रणमा लिइन्थ्यो । कतिपयलाई सडकमा घिसार्दै लगेर प्रतीक्षामा रहेका बसमा राखिएको थियो ।
प्रदर्शनकारी तथा अभियन्ता नेहा बोरालाई नियन्त्रणमा लिने क्रममा सबैभन्दा नाटकीय दृश्य देखिएको थियो । प्रहरी उनको पछिपछि दौडिएर उनलाई पक्राउ गरेको थियो ।
केही प्रदर्शनकारीले भने आन्दोलनको अवस्थालाई लिएर अन्योल महसुस भइरहेको बताएका छन् । सीजेपीका शीर्ष नेताहरू सडकमा उपस्थित नहुँदा आन्दोलनको गति प्रभावित हुन थालेको एक प्रदर्शनकारीले बीबीसीलाई बताए ।
‘उहाँहरूबिना हामी अलि दिशाहीन महसुस गरिरहेका छौँ,’ ती प्रदर्शनकारीले स्वीकार गरे । तर उनले तुरुन्तै थपे, ‘यसको अर्थ हामी आफ्नो सङ्घर्ष रोक्छौँ भन्ने होइन ।’
सीजेपीले शनिबार जन्तरमन्तरमा प्रदर्शन गर्न आह्वान गरेको थियो । यसअघि यही गर्मीयाममा शिक्षा सुधारको माग गर्दै प्रदर्शनकारीहरूले हप्तौँसम्म कब्जामा लिएको सडक पनि यही हो ।
प्रहरीले प्रदर्शनका लागि अनुमति दिन अस्वीकार गरेको थियो । प्रदर्शनकारीलाई उक्त स्थलसम्म पुग्न रोक्न अभूतपूर्व प्रतिबन्ध लगाइएपछि दिल्ली लगभग बन्दको अवस्थामा पुगेको थियो ।
कम्तीमा ४५ मेट्रो स्टेसन बन्द गरिएका थिए । दिल्लीका प्रमुख रेलवे स्टेसनहरू पनि बन्द गरिएका थिए भने लामो दूरीका प्रमुख रेल सेवा रद्द गरिएका थिए । प्रदर्शनमा सहभागी हुन बाहिरबाट यात्रा गरिरहेका धेरैलाई बाटोमै रेलबाट ओरालिएको थियो ।
मध्यदिल्लीमा दिनभर इन्टरनेट सेवामा पनि प्रतिबन्ध लगाइएको थियो । सीजेपीका नेता, अन्य अभियन्ता, वकिल र विद्यार्थी नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएपछि समूहले आइतबार थप प्रदर्शन गर्न आह्वान गरेको थियो ।
आइतबार भारतको सर्वोच्च अदालतले सेवा बन्द र प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको विषयमा परेका उजुरी सम्बोधन गर्न विशेष सुनुवाइ गरेको थियो ।
अदालतले सार्वजनिक शान्तिमा खलल पर्ने अवस्था नभएसम्म सरकारले इन्टरनेट सेवा पुनः सञ्चालन गर्न तथा मेट्रो र रेल सेवा सामान्य रूपमा चल्ने व्यवस्था मिलाउन आदेश दिएको थियो । मानिसहरूको स्वतन्त्र आवागमन सुनिश्चित गर्न र गैरकानुनी रूपमा कसैलाई नियन्त्रणमा नराख्न पनि अदालतले भनेको थियो ।
किन भइरहेको छ प्रदर्शन?
यो विवाद देशव्यापी रूपमा मतदाता नामावली अद्यावधिक गर्ने ठूलो अभियानसँग सम्बन्धित छ । निर्वाचन आयोगले मृतक, दोहोरो नाम भएका तथा मतदानका लागि अयोग्य व्यक्तिहरूको नाम हटाउन नियमित रूपमा यस्तो प्रक्रिया सञ्चालन गरिएको बताएको छ ।
हालसम्म मतदाता नामावलीबाट कम्तीमा १३ करोड नाम हटाइसकिएको छ । धेरै राज्यमा यो प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको छ । हजारौँ मानिसले आफूहरूको नाम गलत तरिकाले हटाइएको आरोप लगाएका छन् ।
सीजेपी र विपक्षी दलहरूले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा मुख्य निर्वाचन आयुक्त कुमारले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) लाई फाइदा पुग्ने गरी काम गरेको आरोप लगाएका छन् । तर निर्वाचन आयोग र भाजपाले उक्त आरोप अस्वीकार गरेका छन् ।
सीजेपी यसअघि गर्मीयाममा हप्तौँसम्म चलेको प्रदर्शनका क्रममा प्रमुख आन्दोलनकारी समूहका रूपमा उदाएको थियो । त्यतिबेला समूहले शिक्षा सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरेको थियो ।
प्रधानन्यायाधीश सूर्यकान्तले बेरोजगार युवालाई ‘कक्रोच’ अर्थात् साङ्लासँग तुलना गरेपछि दिप्केले गरेको व्यङ्ग्यात्मक टिप्पणीबाट यो समूहको सुरुवात भएको थियो । प्रधानन्यायाधीशले पछि आफ्नो भनाइलाई गलत अर्थ लगाइएको बताएका थिए ।
यसअघि विपक्षी आम आदमी पार्टी (आप) सँग काम गरेका दिप्केले बोस्टन विश्वविद्यालयबाट स्नातकोत्तर पूरा गरेपछि मे महिनामा सामाजिक सञ्जाल एक्समा एउटा प्रश्न पोस्ट गरेका थिए, ‘यदि सबै कक्रोच एकजुट भए भने के होला?’
उनको पोस्ट भाइरल भयो र त्यसपछि सीजेपीको जन्म भयो । बेरोजगारी, परीक्षाका प्रश्नपत्र चुहावट र सरकारको जवाफदेहितालाई लिएर बढेको आक्रोशलाई समेट्दै यो आन्दोलनले गति लिएको थियो । पाँच हप्तासम्म चलेको उनीहरूको प्रदर्शन जुलाईमा भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि प्रदर्शनकारीहरूको उत्सवसँगै अन्त्य भएको थियो ।

प्रतिक्रिया