अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र वुडफोर्डलाई

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र वुडफोर्डलाई


काठमाडौं । अमेरिकी प्राध्यापक रोबर्ट ई. हल र माइकल वुडफोर्डले सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार जितेका छन् ।

अर्थतन्त्रमा उत्पन्न हुने उतारचढाव नियन्त्रण गर्न सरकार र केन्द्रीय बैंकलाई सहयोग गर्ने नयाँ आर्थिक मोडेल विकास गरेबापत उनीहरूलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

स्विडेनको रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले सोमबार स्टकहोममा पुरस्कार घोषणा गरेको हो ।

‘पुरस्कार विजेताहरूले अर्थतन्त्रका उतारचढावलाई कम गर्न हामीलाई सहयोग गरेका छन्,’ एकेडेमीले विज्ञप्तिमा भनेको छ ।

आधिकारिक रूपमा ‘स्वेरिजेस रिक्सबैंक प्राइज इन इकोनोमिक साइन्सेज’ नाम रहेको यो पुरस्कार अल्फ्रेड नोबेलले स्थापना गरेका थिएनन् । स्विडेनको केन्द्रीय बैंकले सन् १९६८ मा स्थापना गरेको यो पुरस्कार नोबेलको स्मृतिमा प्रदान गरिँदै आएको छ ।