काठमाडौं । बेलायतको गुप्तचर निकाय एमआई–५ का प्रमुख केन म्याकलमले रुस, इरान र कृत्रिम बुद्धिमत्ता (एआई) बाट बेलायतको सुरक्षामा खतरा बढ्दै गएको चेतावनी दिएका छन् । उनले रुसलाई ‘नम्बर एक आक्रमणकारी’ को संज्ञा दिँदै शीतयुद्धको समयभन्दा अहिले विदेशी शक्तिबाट उत्पन्न खतराको सामना गर्न एमआई–५ ले बढी स्रोतसाधन परिचालन गरिरहेको बताएका छन् ।
पछिल्लो एक दशकमा विदेशी शक्तिबाट उत्पन्न खतराहरू चार गुणाले बढेको उनले बताए । लन्डनस्थित एमआई–५ को मुख्यालयमा वार्षिक सम्बोधन गर्दै म्याकलमले आतंकवाद र विदेशी राज्यबाट उत्पन्न सुरक्षा खतराविरुद्ध निकायले सञ्चालन गर्ने अभियानको आकार लगभग बराबर भएको बताए ।
उनले रुस, इरान र अतिवादी दक्षिणपन्थी आतंकवादबाट बढ्दो जोखिमबारे पनि चेतावनी दिए । आतंकवादीहरूले ड्रोनमा समेत एआई प्रविधि जोडेर त्यसको दुरुपयोग गर्न खोजेको पाइएको भन्दै उनले नयाँ जैविक हतियारजस्ता उदीयमान खतराभन्दा बेलायत अघि रहनुपर्ने बताए ।
रुसको ‘हाइब्रिड युद्ध’
एमआई–५ प्रमुखका अनुसार रुसले नेटोको संयुक्त प्रतिकार निम्त्याउनबाट जोगिँदै ‘हाइब्रिड युद्ध’ सञ्चालन गरिरहेको छ । क्रेमलिनले नेटोको सामूहिक प्रतिक्रिया निम्त्याउने सीमा नाघ्नु मूर्खतापूर्ण हुने उनले बताए ।
रुसले नेटो सैन्य गठबन्धनविरुद्ध प्रत्यक्ष परम्परागत युद्ध सुरु नगरे पनि युरोपेली देशहरूलाई अस्थिर बनाउने प्रयास गरिरहेको म्याकलमको भनाइ छ । युक्रेनमाथिको पूर्णस्तरको आक्रमणमा रुसको प्रगति निकै सीमित रहेको र त्यसका लागि उसले ठूलो मानवीय तथा अन्य क्षति बेहोर्नुपरेको उनले बताए ।
बेलायतले रुसी जासुस पहिचान गरी देशबाट निष्कासन गर्न सफल भएपछि क्रेमलिनले आक्रमणको प्रयासका लागि बिचौलिया र आपराधिक समूहलाई पैसा दिन थालेको उनले बताए ।
‘युक्रेनमाथि आक्रमण सुरु भएयता झन्डै एक हजार रुसी जासुस निष्कासन गरिएकाले क्रेमलिनको परम्परागत गोप्य सञ्जाल ध्वस्त भएको छ । त्यसैले अहिले उनीहरू आफ्नो काम गराउन अपराधीहरूलाई पैसा दिन हतारिएको देखिन्छ,’ उनले भने ।
उनका अनुसार यी गतिविधि रणनीतिक रूपमा माथिल्लो अवस्थामा रहेको महाशक्तिका व्यवहार होइनन् ।
इरानसँग जोडिएका गतिविधिमा एक वर्षमा ५० जना पक्राउ
म्याकलमले इरानले पनि बेलायतमा आफ्नो ‘हाइब्रिड अभियान’ विस्तार गरिरहेको बताए । इरानसँग सम्बन्धित गतिविधिमा पछिल्लो एक वर्षमा ५० जना पक्राउ परेको उनले जानकारी दिए । उनका अनुसार इरानका गतिविधिको निशानामा यहुदी समुदायसँगै सैन्य स्थलजस्ता बढी सुरक्षित स्थान पनि परेका छन् ।
प्रधानमन्त्री एन्डी बर्नह्यामले रोयल एयर फोर्सको फेयरफोर्ड हवाई अड्डामा भएको भनिएको षड्यन्त्र ‘लगभग निश्चित रूपमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड’ द्वारा निर्देशित भएको बताएका थिए । यद्यपि, एमआई–५ प्रमुखले आफ्नो सम्बोधनमा फेयरफोर्डमा भएका पक्राउबारे प्रत्यक्ष उल्लेख गरेनन् ।
‘बेलायतका सडकमा अराजकता फैलाउन खोज्नेहरू—यहाँ पैसा लिएर काम गर्ने गुन्डा हुन् वा विदेशमा बसेर उनीहरूलाई परिचालन गर्ने व्यक्ति—कसैप्रति पनि नरम व्यवहार गरिने छैन,’ उनले भने ।
विदेशी शक्तिका लागि काम गर्दै बेलायतको हितविरुद्ध गतिविधि गर्नेहरूलाई लक्षित गर्न बनाइएको सन् २०२३ को राष्ट्रिय सुरक्षा ऐन व्यापक रूपमा प्रयोग भइरहेको पनि उनले बताए । उक्त ऐन चीन, इरान र रुसबाट उत्पन्न खतरासँग जुध्न प्रयोग गरिएको उनको भनाइ छ ।
एआईबाट आतंकवाद र जैविक हतियारको जोखिम
म्याकलमले एआईले साइबर सुरक्षामा आक्रमणकारी र प्रतिरक्षा गर्ने पक्षबीचको प्रतिस्पर्धालाई तीव्र बनाइरहेको बताए । एआईको सहायताले व्यक्तिअनुसार लक्षित प्रचार सामग्री र कट्टरपन्थी बनाउने सामग्री तयार गर्न सकिने उनको भनाइ छ ।
‘हामीले एआईको प्रयोग गरेर निगरानी र आक्रमण गर्ने तरिका सुधार्न खोजिरहेका आतंकवादीहरू फेला पारेका छौँ । एआईयुक्त ड्रोनले यो जोखिमलाई नयाँ आयाम दिएको छ,’ उनले भने ।
उनका अनुसार अतिवादी समूहहरूले एआईको प्रयोगबाट जैविक हतियार बनाउन सक्ने सम्भावना सबैभन्दा चिन्ताजनक छ । यस्तो खतरा अहिलेसम्म वास्तविक रूपमा देखा नपरे पनि नयाँ वा विद्यमान जैविक हतियारको जोखिमलाई एआईले व्यापक रूपमा बदल्न सक्ने उनले चेतावनी दिए ।
‘यी जोखिम वास्तविक छन् । बेलायतका गुप्तचर निकाय एमआई–५, जीसीएचक्यू र एमआई–६ ले यसविरुद्ध काम गर्न विश्वभर सम्मानित बेलायतको एआई सुरक्षा संस्थानसँग नजिकबाट सहकार्य गरिरहेका छन्,’ उनले भने ।
एआईले निम्त्याउन सक्ने अज्ञात खतराबारे बोल्दै म्याकलमले भने, ‘सरल रूपमा भन्नुपर्दा, हामीभन्दा बढी बुद्धिमान् कुनै पक्षको सामना गरेको अनुभव मानव इतिहाससँग छैन ।’
उनले एआईसम्बन्धी खतराको मूल्यांकन गर्न एमआई–५ ले एआई थ्रेट एसेसमेन्ट सेन्टर स्थापना गरेको पनि जानकारी दिए । उक्त केन्द्रले विभिन्न स्रोतबाट प्राप्त सूचनाको मूल्यांकन गर्दै अतिरञ्जित दाबी र वास्तविक जोखिम छुट्याउनेछ ।
दक्षिणपन्थी आतंकवादमा युवाको संलग्नता बढ्दो
यसै वर्ष अप्रिलमा बेलायतले पाँच वर्षपछि पहिलोपटक आतंकवादी आक्रमणको खतरा स्तर बढाएर ‘सिभियर’ अर्थात् गम्भीर बनाएको थियो । यसको अर्थ बेलायतमा आतंकवादी आक्रमण हुने सम्भावना उच्च रहेको छ ।
म्याकलमका अनुसार अलकायदा र इस्लामिक स्टेटजस्ता इस्लामवादी समूहले अझै पनि आक्रमण गर्न निर्देशन दिने र अरूलाई प्रेरित गर्ने काम गरिरहेका छन् । तर खतरा बढ्नुको अर्को प्रमुख कारण अतिवादी दक्षिणपन्थी आतंकवाद पनि हो ।
‘पछिल्लो एक वर्षमा सबैभन्दा उल्लेखनीय प्रवृत्ति आप्रवासनविरोधी र मुस्लिमविरोधी असन्तुष्टिको अतिवादी स्वरूप आतंकवादी गतिविधि गर्ने मनसायमा परिणत हुनु हो,’ उनले भने ।
उनका अनुसार दक्षिणपन्थी अतिवादमा संलग्न हुनेहरू प्रायः कम उमेरका छन् र उनीहरू इन्टरनेटबाट प्रभावित हुने गरेका छन् । एमआई–५ ले पछिल्ला महिनामा बेलायतमै कट्टरपन्थी बनेका १३ वर्षीय दक्षिणपन्थी किशोरमाथि अनुसन्धान गरेको उनले बताए ।
‘त्यो अनुसन्धानबाट प्राप्त जानकारीले हाम्रो एउटा अन्तर्राष्ट्रिय साझेदारलाई आफ्नो देशमा घातक आक्रमण हुनबाट रोक्न मद्दत गर्यो,’ उनले भने ।

प्रतिक्रिया