काठमाडौं । बाढीपहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएपछि चीनको कोरलानाकाबाट नेपाल भित्रिएका २ हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन ९ईभी० मुस्ताङमै रोकिएका छन् ।
गत ११ असोजको भारी वर्षापछि सडक अवरुद्ध हुँदा गन्तव्यमा पुर्याउन नसकिएका गाडी शुक्रबार साँझदेखि सडक सञ्चालनमा आए पनि अझै पठाउन सकिएको छैन । सडकको अवस्था नाजुक रहेकाले सवारीसाधन मुस्ताङमै रोकिएका हुन् ।
सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार कोरलानाकाको खुला क्षेत्रमा दुई हजारभन्दा बढी र न्हेचुङस्थित भन्सार यार्डमा २०० भन्दा बढी ईभी पार्किङ गरिएका छन् । त्यस्तै, जोमसोमका दुई पार्किङस्थलमा ५०० भन्दा बढी गाडी राखिएका छन् ।
साइमेक्स इङ्कका प्रतिनिधि दीपक बुढाथोकीका अनुसार ११ असोजअघि बिवाइडीका करिब ४५० गाडी गन्तव्यमा पठाइएको थियो । त्यसपछि भित्रिएका गाडी सडकको खराब अवस्थाका कारण रोकिएका हुन् ।
रसुवा र तातोपानी नाका बन्द भएपछि साइमेक्स इङ्कले कोरलानाकाबाट तीन हजारभन्दा बढी विद्युतीय गाडी भित्र्याउने योजना बनाएको छ ।

प्रतिक्रिया