काठमाडौं । संसदीय सुनुवाइ समितिले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम अस्वीकृत गरेको छ ।
बुधबार बसेको समितिको बैठकले सुनारको नाम सर्वसम्मतले अस्वीकृत गरेको हो । उनीमाथि परेको महिला हिंसासम्बन्धी उजुरी र नैतिक आचरणमाथि उठेका प्रश्नका कारण समितिले उनको नाम अनुमोदन नगर्ने निर्णय गरेको हो ।
सरकारले गत असोज २ गते सुनारलाई साउदी अरेबियाका लागि राजदूतमा सिफारिस गरेको थियो । उनीविरुद्ध महिला हिंसा, धम्की तथा पूर्वप्रेम सम्बन्धमा रहेकी महिलालाई दुःख दिएको आरोपसहित दुईवटा उजुरी परेको थियो ।
सुनुवाइका क्रममा सांसदहरूले उनको नैतिक चरित्र र राजदूत पदका लागि उपयुक्ततामाथि प्रश्न उठाएका थिए । सांसद वर्षमान पुनले उनलाई नाम फिर्ता लिन सुझाव दिएका थिए भने एमाले सांसद पद्मा अर्याल, प्रेम दंगाल, पुनम अग्रवाल र दीपक बोहरालगायतले उनीमाथि उठेका प्रश्नलाई गम्भीर रूपमा लिनुपर्ने बताएका थिए ।
रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले सुनारको प्रस्तुति, कागजात र योग्यता राम्रो देखिए पनि पुरानो घटनाका कारण नैतिक चरित्रमाथि प्रश्न उठेकाले नाम अस्वीकृत गर्नुपर्ने अवस्था आएको बताएका थिए । राजदूतजस्तो प्रतिष्ठित पदमा विवाद नहोस् भन्ने उद्देश्यले यस्तो निर्णय लिनुपर्ने उनको भनाइ थियो ।
सुनारले भने आफूमाथि लागेको महिला हिंसाको आरोप अस्वीकार गरेका थिए । सम्बन्धित महिलासँग १३ वर्षअघि प्रेम सम्बन्ध रहेको र पछि सम्बन्ध बिग्रिएपछि फोनमा भनाभन भएको उनले बताएका थिए । जर्मनीमा अनुवादकका रूपमा जाँदा भिसा अवधि नाघेर बसेपछि आफूलाई देश निकाला गरिएको भन्ने आरोप पनि उनले अस्वीकार गरेका थिए ।
आफूले कुनै हिंसा नगरेको दाबी गर्दै सुनारले राजदूतका लागि सिफारिस भएको नाम फिर्ता नलिने अडान राखेका थिए । तर, समितिले उनको नाम सर्वसम्मतले अस्वीकृत गरेपछि साउदी अरेबियाका लागि राजदूत नियुक्ति प्रक्रिया अघि बढ्न सकेन ।

प्रतिक्रिया