काठमाडौं । मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेलको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएको छ।
समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले खरेलमाथि आर्थिक अनियमितता तथा विभिन्न व्यक्तिसँगको आर्थिक लेनदेनसम्बन्धी आरोप उठाउँदै प्रश्न गरेपछि उनको सुनुवाइ रोकिएको थियो।
खरेलमाथि झापाका स्थानीयलाई अनुदान उपलब्ध गराइदिने भन्दै रकम लिएको र राजदूतमा सिफारिस भएपछि रकम फिर्ता गर्न थालेको आरोप छ। त्यस्तै, म्यानपावर व्यवसायीसँग राजदूत बनेपछि काम गरिदिने आश्वासनमा रकम लिएको र व्यवसायीसँग सम्बन्धित गाडी प्रयोग गरेको आरोपसमेत उजुरीमा उल्लेख छ।
उजुरीमा म्यानपावर व्यवसायी विजय मिश्रको एड्भेन्चर ओभरसिजसँग करिब दुई करोड रुपैयाँको कथित लेनदेन तथा बा २० च ५३९ नम्बरको टोयोटा आरएभी–४ गाडी प्रयोग गरेको विषय पनि उठाइएको छ।
त्यसैगरी, योग महासंघ नेपालको महासचिव हुँदा आर्थिक दायित्व र बक्यौतासम्बन्धी अनियमितता गरेको तथा पोखरामा सार्वजनिक वन क्षेत्रको जग्गा मिलाइदिने भन्दै रकम लिएको आरोप पनि उनीमाथि लगाइएको छ। जनकपुर क्षेत्रमा जग्गासम्बन्धी अनियमितताको आरोपसमेत उजुरीमा समेटिएको छ।
उजुरीकर्ताले खरेलको पछिल्लो तीन महिनाको फोन कल र सन्देशसमेत अनुसन्धान गर्न माग गरेका थिए। खरेलले भने आफूमाथि सांसदले उठाएका आरोप अस्वीकार गरेका थिए।
आर्थिक लेनदेन र म्यानपावर व्यवसायीसँगको सम्बन्धबारे उठेका प्रश्नका बीच संसदीय सुनुवाइ समितिले खरेलको नाम अस्वीकृत गरेको हो।

प्रतिक्रिया