बालेनले भने- शिक्षा विधेयकमा मेराे पनि विराेध छ, तर पढाइ राेक्न मिल्दैन

बालेनले भने- शिक्षा विधेयकमा मेराे पनि विराेध छ, तर पढाइ राेक्न मिल्दैन


काठमाडौँ ।

प्रस्तावित शिक्षा विधेयकप्रति काठमाडौँ महानगरको पनि असहमति भएको मेयर बालेन साहले बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् बालेनले यसबारे प्रतिक्रिया दिएका हुन् ।

‘शिक्षा विधेयकमा हाम्रो पनि असहमति छ । लगभग २ लाख ५० हजार हजार विद्यार्थी तथा १० हजारभन्दा धेरै शिक्षक हाम्रो मातहतमा छन्,’ उनले भनेका छन्, ‘आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारका रूपमा रहेकाले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ । किनकि काठमाडाैँको शिक्षाको नीति र जुम्लाको नीति र आवश्यकता फरक हुन्, छन् ।’

संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकाले यसलाई आफूहरूले नस्वीकार्ने बताएका छन् । त्यस्तै, संघीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसद्मा दर्ता गर्नु नै संविधानको बर्खिलाप भएको भन्दै शाहले असन्तुष्ट व्यक्त गरेका छन् ।

अन्तमा उनले लेखेका छन्, ‘स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यमिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे सम्मानित अदालतका फैसलाहरूबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराउन चाहन्छौँ ।’

साथै, आन्दोलनका नाममा काठमाडौँका विद्यालय बन्द गरेर पठनपाठनमा अवरोध नपुर्‍याउन पनि बालेनले आग्रह गरेका छन् । पढाइ अवरोध भएमा कारबाही गर्ने पनि उनले बताएका छन् ।

उनले चेतावनीसहितकाे आग्रह गर्दै भनेका छन्, ‘शिक्षकले स्कुल बन्द गरेर पठनपाठनमा अवरोध नपुर्‍याउनुहोला । यस्ता अवरोध पुर्‍याउनेहरूलाई कानुन (संविधान) अनुसार कारबाही हुनेछ ।’