सुर्खेत । उपल्लो डोल्पाका स्थानीयवासीका लागि जडीबुटी संकलन आम्दानीको प्रमुख स्रोत बनेको छ । कृषि उत्पादन सीमित, यातायातको असहज पहुँच र रोजगारीका वैकल्पिक अवसर कम हुँदा शे फोक्सुण्डोसहितका उच्च हिमाली क्षेत्रका बासिन्दा जीविकोपार्जनका लागि जडीबुटी संकलनमा निर्भर हुँदै आएका छन् ।
डोल्पाका स्थानीयवासी मात्र नभई छिमेकी जिल्ला जाजरकोट, रुकुम पश्चिम र जुम्लाबाट समेत मानिसहरू जडीबुटी संकलनका लागि उपल्लो डोल्पाका पाटन क्षेत्रमा पुग्ने गरेका छन् । पशुचौपायासहित पाटनमा पुगेर जडीबुटी संकलन गर्ने उनीहरूले यसबाट प्राप्त आम्दानी खाद्यान्न, लत्ताकपडा, बालबालिकाको शिक्षा र घरायसी खर्चमा उपयोग गर्दै आएका छन् ।
शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङका अनुसार उच्च हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी स्थानीयको आम्दानीको मुख्य आधार हो । भौगोलिक विकटता र सीमित आर्थिक गतिविधिका कारण धेरै परिवारको जीवनयापन जडीबुटीबाट हुने आम्दानीमा निर्भर रहेको उनले बताए ।
प्राकृतिक स्रोत र जैविक विविधताले सम्पन्न उपल्लो डोल्पामा जडीबुटीको व्यावसायिक सम्भावना रहे पनि त्यसबाट स्थानीयले पाउनुपर्ने लाभ भने सीमित रहेको छ । कठिन भूगोल, प्रतिकूल मौसम र जोखिमपूर्ण बाटो पार गर्दै जडीबुटी संकलन गर्नुपर्ने संकलकले आफ्नो श्रमअनुसारको मूल्य पाउन नसकेको समस्या छ ।
जडीबुटी निकासीबाट एक करोडभन्दा बढी राजस्व
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी महेश नेपालीका अनुसार आर्थिक वर्ष २०८२र८३ मा डोल्पाबाट एक लाख १३ हजार १३७ किलोग्राम जडीबुटी निकासी भएको छ । उक्त अवधिमा जडीबुटी निकासीबाट एक करोड सात लाख ६२ हजार ५०४ रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए ।
नेपालीका अनुसार अघिल्लो अवधिको तुलनामा जडीबुटी निकासी र राजस्व संकलन बढेको छ । यसले जडीबुटीको आर्थिक महत्त्व देखाए पनि त्यसबाट संकलकले कति आम्दानी गरिरहेका छन् र व्यापारको लाभ स्थानीयस्तरमा कति रहन्छ भन्ने विषय महत्त्वपूर्ण छ । जडीबुटी संकलन गरेर बिक्री गरे पनि प्रशोधन, गुणस्तर वर्गीकरण, भण्डारण र बजारसम्म पुर्याउने व्यवस्थामा स्थानीयको पहुँच सीमित छ । त्यसैले जडीबुटीको मूल्य अभिवृद्धिबाट प्राप्त हुने लाभको ठूलो हिस्सा संकलकसम्म पुग्न नसक्ने अवस्था रहेको छ । उपल्लो डोल्पामा संकलित केही जडीबुटी प्रशोधनका लागि जाजरकोटको कालेगाउँस्थित जडीबुटी प्रशोधन केन्द्रमा समेत पुग्ने गरेको छ ।
जडीबुटीको बजार मूल्य, माग र गुणस्तरअनुसार संकलकको आम्दानी फरक पर्ने गर्छ । बजार मूल्यसम्बन्धी पर्याप्त जानकारी नहुनु, भरपर्दो खरिद प्रणालीको अभाव र ढुवानी खर्च बढी हुनुजस्ता कारणले उनीहरूको वास्तविक आम्दानी प्रभावित हुने गरेको छ ।स्थानीयवासी जितेन्द्र झाँक्रीका अनुसार स्थानीयस्तरमै जडीबुटीको पहिचान, प्रशोधन, भण्डारण र व्यवस्थित बिक्रीको व्यवस्था गर्न सके संकलकले आफ्नो श्रमको उचित मूल्य पाउने सम्भावना छ ।
संरक्षणमा बेवास्ता भए भविष्यमा आम्दानी गुम्ने जोखिम
जडीबुटीमा आधारित अर्थतन्त्रको अर्को चुनौती प्राकृतिक स्रोतको संरक्षण हो । स्थानीयको आम्दानीको प्रमुख आधार बनेका पाटन र त्यहाँ पाइने वनस्पतिको संरक्षण हुन नसके भविष्यमा जडीबुटीको उपलब्धता घट्ने र त्यसको असर स्थानीयको जीविकोपार्जनमा पर्ने जोखिम छ ।जथाभावी संकलन, अपरिपक्व अवस्थामा जडीबुटी टिप्ने प्रवृत्ति र प्राकृतिक बासस्थानमा पर्ने असरले जडीबुटीको पुनःउत्पादनमा समस्या निम्त्याउन सक्छ । त्यसैले कुन प्रजाति कुन समयमा र कति मात्रामा संकलन गर्ने भन्ने विषयमा स्पष्ट व्यवस्था आवश्यक छ ।
वैज्ञानिक अध्ययनका आधारमा संकलनको मात्रा निर्धारण गर्ने, स्थानीय समुदायलाई संरक्षणसम्बन्धी ज्ञान दिने र प्रचलित नियमको प्रभावकारी कार्यान्वयन गर्ने हो भने प्राकृतिक स्रोतको संरक्षणसँगै स्थानीयको आम्दानीलाई पनि दिगो बनाउन सकिन्छ ।त्यस्तै, जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रको तापक्रम, हिमपात र वर्षाको स्वरूपमा आउने परिवर्तनले जडीबुटीको वृद्धि र उपलब्धतामा पार्न सक्ने प्रभावबारे अध्ययन तथा नियमित अनुगमन आवश्यक देखिन्छ ।
स्थानीय प्रशोधन र वैकल्पिक रोजगारीमा जोड दिनुपर्ने
शे फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका बासिन्दाको जडीबुटीमाथिको निर्भरता घटाउनु भनेको संकलन रोक्नु मात्र होइन । बरु जडीबुटीबाट प्राप्त हुने लाभ बढाउँदै आम्दानीका अन्य स्रोत विकास गर्नु आवश्यक छ ।
स्थानीयस्तरमै प्रशोधन केन्द्र स्थापना, बजार व्यवस्थापन, संकलकको सीप विकास र मूल्यसम्बन्धी सूचना उपलब्ध गराउन सके स्थानीयले जडीबुटीबाट बढी लाभ लिन सक्छन् । साथै, जिम्मेवार पर्यटन, स्थानीय कला तथा संस्कृतिमा आधारित व्यवसाय र अन्य आयआर्जनका गतिविधि विस्तार गर्न सके परिवारको आर्थिक जोखिम कम गर्न सकिन्छ । यसका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय निकायबीच समन्वय गरी आवश्यक पूर्वाधारमा लगानी गर्नुपर्ने देखिन्छ । दुर्गम क्षेत्रमा सडक तथा सञ्चार पहुँच सुधार गर्नुका साथै स्थानीय उत्पादनको गुणस्तर कायम गर्ने र बजारसम्म पुर्याउने दिगो व्यवस्था पनि आवश्यक छ ।
जडीबुटी संकलनबाट स्थानीयले वास्तविक रूपमा कति लाभ पाइरहेका छन् भन्ने यकिन गर्न परिवारको वार्षिक आम्दानी, संकलनमा लाग्ने खर्च, बिक्री मूल्य, व्यापारीको संख्या र जडीबुटीको उपलब्धतासम्बन्धी तथ्यांक संकलन गर्नुपर्ने देखिन्छ ।उपल्लो डोल्पाको प्राकृतिक सम्पदालाई स्थानीय समृद्धिको आधार बनाउन जडीबुटीको दिगो संकलन, उचित मूल्य, स्थानीयस्तरमा प्रशोधन र वैकल्पिक रोजगारीलाई एकसाथ अघि बढाउनुपर्ने आवश्यकता छ ।

प्रतिक्रिया