दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन…

दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन…


काठमाडौँ। बडादसैँलगायत चाडपर्व मनाउन काठमाडौँ उपत्यका बाहिर घर फर्कनेक्रमसँगै लत्ताकपडासहित घरायसी सामाग्री तथा उपहारका सामान खरिदका लागि मुख्य सहर र बजारमा उपभोक्ताको भीड लागेको छ ।

दसैँ, तिहार र छठलगायत महत्वपूर्ण पर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाका बजारमा किनमेल गर्नेको भीडभाड बढेको हो ।
विगतमा झैँ अहिले काठमाडौँको मुख्य व्यापारिक क्षेत्र, सपिङ मल, डिपार्टमेन्टल स्टोर तथा स्थानीय पसलमा ग्राहकको आवागमन बढेको छ ।

रोजगारी, अध्ययन तथा विभिन्न कामको सिलसिलामा काठमाडौँमा बस्दै आएका मानिस चाडपर्व मनाउन घर फर्कने तयारीमा जुटेका छन् । नयाँ लुगा लगाउने रहरले गुल्मी घर भएकी जानकी ज्ञवालीलाई काठमाडौँको न्युरोडमा पु¥याएको छ ।

दसैँका लागि लत्ताकपडा खरिद दसैँमा बजारसम्म पुगेकी ज्ञवालीले भन्नुभयो, “दसैँमा नयाँ लुगा नलगाए चित्तै बुझ्दैन, सस्तो र राम्रो लुगा खोज्दै छु । दसैँको रमाइलो नै यही त हो ।”

काठमाडौँको बजारमा १०० देखि लाखौँ मूल्यसम्मका सामग्री उपलब्ध हुने भएकाले उपभोक्ताले आफ्नो आर्थिक क्षमताअनुसार किनमेल गरिरहेको उहाँको अनुभव छ । “काठमाडौँमा गरिबदेखि धनीसम्म सबैले आफ्नो क्षमताअनुसार सामान किन्नसक्ने बजार छ । यो राम्रो पक्ष हो”, ज्ञावलीले भन्नुभयो ।

चाडपर्व लक्षित छुट तथा विशेष अफरले पनि बजारमा उपभोक्तालाई आकर्षित गरेको छ । शङ्खमूल टावरमुनि कपडाको सेल बजार सञ्चालन गरिरहनुभएकी व्यापारी आन्सिका थापाले चिसो मौसम सुरु हुन लागेकाले जाडोमा लगाउने कपडा छुटमा बिक्री गरिरहेको बताउनुभयो ।

दसैँ, तिहार र छठमा उपत्यका बाहिर जाने आफ्नो पसलका मुख्य ग्राहक रहेको उहाँको भनाइ छ । दसैँको घटस्थापनादेखि सुरु भएको व्यापार अष्टमीसम्म मानिसको चहलपहल हुने गरेको थापाले बताउनुभयो ।

चाडपर्वमा घरपरिवार र आफन्तका लागि कोसेली लैजाने चलनले पनि बजारमा किनमेल बढाएको छ । न्युरोडमा घर लैजान पुष्टकारी किन्दै गर्नुभएका डोटीका मोहन पनेरुले दसैँका लागि आवश्यक मसलासमेत काठमाडाँैबाटै किनेर लैजाने गरेको बताउनुभयो ।

तुलनात्मक रुपमा सस्तो पर्ने भएकाले काठमाडौँबाटै किनेर लैजाने गरेको बताउनुभयो । गाउँघरमाभन्दा तुलनात्मक रुपमा सस्तो पर्ने भएकाले काठमाडौँबाटै सामान किन्ने गरेको उहाँको भनाइ छ ।

“मसला लगेपछि घरमा बाआमा खुसी हुनुहुन्छ, “दसैँ आएको महसुस गर्नुहुन्छ”, पनेरुले भन्नुभयो । यता, ललितपुरको लगनखेलस्थित मङ्गलबजारमा पनि चाडपर्व लक्षित किनमेल गर्नेको चहलपहल निकै बाक्लो छ । सामान्य अवस्थामा पनि व्यस्त रहने त्यस बजारमा अहिले ग्राहकको भीड थेगिनसक्नु छ ।

लतितपुरको मङ्गलबजारमा तीन दशकदेखि कपडा व्यापार गर्दै आउनुभएका घनश्याम रौनियारले यस वर्षको दसैँमा विगतको तुलनामा व्यापारिक उत्साह कम रहेको अनुभव सुनाउनुभयो । बाढी पहिरोलगायत विपद्को प्रभाव, बढ्दो महँगी र आर्थिक सङ्कटका कारण उपभोक्ताले खुलेर खर्च गर्न नसकेको उहाँको भनाइ छ । “सामानको मूल्य चर्को छ”, उहाँले भन्नुभयो, “विशेष छुटमा राखेका सामानसमेत बिक्री गर्न चुनौती छ ।”

चाडपर्वमा बजारमा चहलपहल बढे पनि उपभोक्ताको क्रयशक्ति र व्यवसायीको व्यापारिक अपेक्षाबीच तालमेल देखिन्न ।