सुनसरी । धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा महानवमीका दिन बिहानैदेखि पूजाआराधना गर्ने भक्तजनको घुइँचो लागेको छ। मनोकामना पूरा हुने विश्वासका साथ भक्तजनले मन्दिरमा कुखुराको भाले, अण्डा र फलफूल चढाएर पूजा गरिरहेका छन्। मन्दिरका पुजारी डम्बर आलेमगरका अनुसार भाकल पूरा भएपछि भाले चढाउने परम्परा छ।
बुढासुब्बा मन्दिरमा पूर्वी नेपालका विभिन्न जिल्लाका साथै भारतको सिक्किम, दार्जिलिङ र भुटानबाट समेत दर्शनार्थी आउने गरेका छन्। दसैँ सुरु भएसँगै मन्दिरमा भक्तजनको चहलपहल बढेको स्थानीय व्यवसायी एमडी जम्मेलले बताए। मन्दिर परिसरमा पूजाका सामग्री तथा खेलौनाको व्यापारसमेत बढेको छ।
विजयपुर क्षेत्रमा बुढासुब्बासँगै दन्तकाली, पिण्डेश्वर र पञ्चकन्यालगायत प्रसिद्ध धार्मिकस्थल रहेका छन्। दसैँका अवसरमा यी मन्दिरमा पनि भक्तजनको चहलपहल बढ्ने गरेको छ।

प्रतिक्रिया