साताको अन्त्यमा देशभर मौसम बदली हुने, हिमपात र वर्षाको सम्भावना

साताको अन्त्यमा देशभर मौसम बदली हुने, हिमपात र वर्षाको सम्भावना


काठमाडौं । जल तथा मौसम विज्ञान विभाले आगामी एक साताको साप्ताहिक मौसमी परिदृश्य सार्वजनिक गरेको छ ।

नेपाल कृषि अनुसन्धान परिषद्ले मौसम विज्ञान विभागसँगको सहकार्यमा सार्वजनिक गरेको बुलेटिनका अनुसार साताको सुरू (शुक्रबार र शनिबार) र मध्य (आइतबार, सोमबार र मंगलबार) मा देशभरको मौसम सामान्य रहे पनि साताको अन्त्य (बुधबार र बिहीबार) मा भने देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । यस साता देशभर अधिकतम र न्यूनतम दुवै तापक्रम हल्का घट्ने पूर्वानुमान गरिएको छ, जसले गर्दा देशभर चिसो क्रमशः बढ्ने देखिएको छ ।

विभागका अनुसार साताको सुरू र मध्यमा देशका हिमाली तथा उच्च पहाडी भू–भागमा आंशिक बादल लागी एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको मात्र सम्भावना छ । तर, बुधबार र बिहीबार मौसम पूर्णतया बदली भई हावाहुरीसहित हिमपात हुने सम्भावना रहेको छ । जसअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रका धेरै स्थानमा मध्यमसम्मको, थोरै स्थानमा भारी र एक–दुई स्थानमा धेरै भारी हिमपातको सम्भावना रहेको छ । त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानमा मध्यम र एक–दुई स्थानमा भारी हिमपात हुने विभागले जनाएको छ ।

पहाडी भू–भागमा पनि साताको सुरू र मध्यमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साताको अन्त्यमा भने साधारणदेखि पूर्णतया बादल लागी मेघगर्जन र चट्याङसहित वर्षाको गतिविधि बढ्नेछ । बुधबार र बिहीबार कोशी प्रदेशको पहाडी क्षेत्रका केही स्थानमा मध्यम तथा एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । यसैगरी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा मध्यम र थोरै स्थानमा भारी वर्षा हुने देखिन्छ भने लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा भने हल्कादेखि मध्यमसम्मको वर्षा हुने पूर्वानुमान गरिएको छ ।

तराईका भू–भागमा साताको सुरूमा मौसम मुख्यतया सफा रहनेछ र मध्यतिर आंशिक बादल लाग्नेछ । शुक्रबारदेखि मंगलबारसम्म तराईमा वर्षाको कुनै सम्भावना नरहेको विभागले स्पष्ट पारेको छ । तर, साताको अन्त्य (बुधबार र बिहीबार) मा तराईमा पनि साधारणदेखि पूर्णतया बादल लागी मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने जनाइएको छ । साताको अन्त्यमा कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा मध्यम र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यस्तै, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा मध्यम र थोरै स्थानमा भारी वर्षा हुनेछ भने सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साताको अन्त्यमा हिमपात, भारी वर्षा, हावाहुरी र चट्याङका कारण पर्वतारोहण, हवाई तथा सडक यातायात र कृषि लगायतका दैनिक जनजीवनमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।