एक हप्तापछि खुल्यो बेनी–दरवाङ सडक

एक हप्तापछि खुल्यो बेनी–दरवाङ सडक


म्याग्दी । म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने मुख्य बेनी–दरवाङ सडक खण्ड एक हप्तापछि पुनः सञ्चालनमा आएको छ ।

बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा गत असोज ३१ गतेदेखि लगातार खसेको सुख्खा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएको थियो । पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो हटाउने मेसिन प्रयोग गरी आजदेखि सडक सञ्चालनमा ल्याएको हो । दसैँको समयमा घर फर्कने र कार्यक्षेत्रमा जाने यात्रुको चाप बढेका बेला सडक बन्द हुँदा नागरिकले ठूलो सास्ती व्यहोर्नुपरेको थियो । पहिरो पन्छाउने जिम्मा पाएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेका अनुसार दसैँलाई ध्यानमा राखेर द्रुत गतिमा काम गर्न खोजिए पनि पहिरो नरोकिएका कारण बाटो खुलाउन केही समय लागेको हो ।
‘ दसैँको समयमा आवतजावत गर्ने यात्रुको सुविधालाई ध्यानमा राखेर तत्कालका लागि सडक खुलाइएको छ, तर दिगो समाधानका लागि अझै धेरै काम गर्न बाँकी छ’, पाण्डेले भने, ‘दसैँको चहलपहल सकिएलगत्तै पहिरो नियन्त्रण र जोखिमरहित सडक निर्माणका बाँकी काम अघि बढाउने योजना छ ।’
कुल २४ किलोमिटर दूरी रहेको बेनी–दरवाङ सडकखण्ड म्याग्दीको पश्चिमी क्षेत्रका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकामसँग जोड्ने ‘लाइफलाइन’ मानिन्छ । पूर्वाधार विकास कार्यालयले तत्कालका लागि यातयात सुचारु भए पनि यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरेको छ ।