काठमाडौं । बलिउड सुपरस्टार अजय देवगन अभिनीत बहुप्रतीक्षित फिल्म ‘दृश्यम ३ः द कनक्लूजन’ले भारतीय बक्स अफिसमा एकपछि अर्को ऐतिहासिक रेकर्ड कायम गरेको छ। वर्षकै दोस्रो ठूलो ओपनिङ हासिल गरेको यस फिल्मले ‘दृश्यम’ फ्रेन्चाइजकै सर्वाधिक व्यापार गरिसकेको छ भने अजय देवगनको करिअरकै सर्वाधिक कमाउने फिल्मको कीर्तिमान समेत आफ्नो नाममा दर्ता गराएको छ।
फिल्मले प्रदर्शनको २२औं दिनमा सनी देओल अभिनीत चर्चित फिल्म ‘बोर्डर २’लाई कमाइको दौडमा पछि पार्दै बक्स अफिसमा अर्को ठूलो सफलता हासिल गरेको छ। योसँगै ‘दृश्यम ३’ सन् २०२६ को दोस्रो धेरै कमाउने हिन्दी फिल्म बनेको छ। यसअघि गत जनवरीमा प्रदर्शनमा आएको ‘बोर्डर २’को कुल कमाइ ३६२ करोड भारु रहेकोमा ‘दृश्यम ३’ले २२ दिनमै ३६३ करोड भारु कमाउन सफल भएको छ।
भारतीय ट्रेड पोर्टल स्याकनिल्कका अनुसार गान्धी जयन्ती अर्थात् अक्टोबर २ मा ६२ करोड भारुको बम्पर ओपनिङ गरेको यस फिल्मले पहिलो साता २४५ करोड ५० लाख, दोस्रो साता ८७ करोड ५० लाख र तेस्रो साता २८ करोड ८५ लाख भारु संकलन गरेको थियो। चौथो सातामा प्रवेश गर्दा पनि बक्स अफिसमा सुखद व्यापार कायम राखेको फिल्मले २२औं दिन शुक्रबार मात्रै १ करोड ४० लाख भारु कमाएको छ।
अभिषेक पाठकको लेखन तथा निर्देशन रहेको यस फिल्ममा अजय देवगनसहित तब्बु, श्रिया सरन, इशिता दत्ता, मृणाल जाधव, रजत कपूर, जयदीप अहलावत, प्रकाश राज, सौरभ शुक्ला, नेहा जोशी र कमलेश सावन्तलगायतका कलाकारको मुख्य अभिनय रहेको छ। दर्शक र समीक्षकहरूले यसलाई ‘दृश्यम’ फ्रेन्चाइजकै सबैभन्दा उत्कृष्ट र थ्रिलिङ श्रृंखला मानेका छन्। विजय सालगाउँकरको कथाको यो नै अन्तिम भाग भएकाले अब यस फिल्मको नयाँ श्रृंखला नबन्ने निर्माण पक्षले जनाएको छ।

प्रतिक्रिया