भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा पनि ढिकी जाँतो विस्थापित हुँदै जान थालेको छ ।
ग्रामीण बस्तीमा समेत विद्युतको पहुँच पुगेपछि ढिकी जाँतोको बिकल्प साना मिल बनेको हो । साना मिलका कारण ठूला कुटानी मिल समेत विस्थापित हुन थालेको छ ।
अहिले भोजपुरमा सञ्चालन गरिएका ठूला मिल केही मात्रै बाँकी छन् । गाउँगाउँमा विद्युतको पहुँच पुगेसँगै ठूला मिल विस्थापित भएका हुन् ।
अनुदानमा विभिन्न सरकारी निकायबाट साना मिल वितरण हुन थालेपछि घरघरमा मिल राख्न सुरु गरिएको छ । मिल सञ्चालन गर्दै आउनु भएका निरकुमार प्रधानले भने, ‘गाउँघरबाट ढिकी, जाँतो त विस्थापित हुँदै गयो । अहिले त साना मिलका कारण ठूला मिलसमेत विस्थापित हुँदै गएका छन् ।’
विद्युत गाउँगाउँमा पुगेसँगै घरघरमा साना मिल जडान हुन थालेका उनले बताए ।
घर परिवारमा ठूला मिलसम्म धान, मकै कोदो लिएर कुटाउन जानेको संख्या पनि कमी हुँदै गएकाले पनि घरघरमै साना मिल राख्न थालिएको साना मिल सप्लायर्स बाजिम मगरले बताए ।
उनले भने, ‘अहिले मेरोमा साना मिल खरिद गर्नेको सङ्ख्या बढदै गएको छ । ४०—४५ हजारमै साना मिल खरिद गर्नसक्ने भएकाले यसतर्फ आर्कषण बढेको हो ।’
सानो मिल आएपछि समय र श्रम दुवैको बचत भएको स्थानीय नवीन प्रधानले बताए । साना मिलले स्थानीयवासीलाई सहजता थपिएको उनको भनाइ थियो।
‘आफूलाई आवश्यक पर्ने थोरै सामग्री घरमै कुट्न सकिने भएकाले यो मिल प्रभावकारी देखिएको छ । ठुला मिलमा कुटानी पिसानीका लागि आउनेको सङ्ख्या घटदै जान थालेपछि आफूले लामो समय सञ्चालन गरेको मिल बन्द गरेको अत्तर राइस मिलका सञ्चालक जीवन श्रेष्ठले बताए ।

प्रतिक्रिया