काठमाडाै । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधव कुमार नेपालले देशको राष्ट्रियता, संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पार्टी पूर्ण रूपमा जनतामाझ जाने घोषणा गर्नुभएको छ।
शनिबार काठमाडौँको पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित दुई महिने ‘राष्ट्रिय जागरण अभियान’को उद्घाटन गर्दै सहसंयोजक नेपालले मुलुकको स्वाधीनता र राष्ट्रियतामाथि कुनै पनि किसिमको आघात पुर्याउने काम भए आफूहरू टुलुटुलु हेरेर नबस्ने स्पष्ट पार्नुभयो।
उहाँले देशमा तीव्र रूपमा बढिरहेको बेरोजगारी, युवाहरूको विदेश पलायन र सर्वसाधारणका दैनिक जीवनका समस्याहरूलाई आफ्नो पार्टीले गम्भीरताका साथ उठाउने र सरकारलाई सम्बोधनका लागि दबाब दिने बताउनुभयो। विगतमा सरकार र सत्तामा रहँदा भएका कमीकमजोरीहरूको आत्मसमीक्षा गर्दै जनताको घरदैलोमै पुगेर सुझाव लिने र असन्तुष्टिहरू सुधार्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभएको छ।
साथै, पुराना दल र नेताहरूमाथि लगाइने गरेका सतही आरोपहरूको तथ्य र प्रमाणका आधारमा प्रतिवाद गर्दै पार्टीले गरेका ऐतिहासिक कामहरूको फेहरिस्त जनतासामु लैजाने उहाँको भनाइ थियो।

प्रतिक्रिया