काठमाडौँ। नेपाली बजारमा आज (आइतबार) सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दसैँको बिदापछि सार्वजनिक भएको नयाँ मूल्य सूची अनुसार सुनको भाउ तोलामा ११ हजार ७ सय रुपैयाँले घटेको छ।
मूल्य गिरावट भएसँगै आज सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा झरेको छ। यसअघि यही कात्तिक २ गते सोमबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेर २ लाख ९० हजार २ सय रुपैयाँ कायम भएको थियो।
यस्तै, आज चाँदीको मूल्यमा पनि ठूलो गिरावट आएको छ। चाँदीको भाउ प्रतितोला २३० रुपैयाँले घट्दै तोलाको ३ हजार ९ सय ५५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। गत सोमबार चाँदी प्रतितोला ४ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो। नेपाली सुनचाँदी बजारको इतिहास हेर्दा गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै सर्वोच्च विन्दु हो। सोही दिन चाँदीको मूल्य पनि हालसम्मकै उच्च अर्थात् प्रति तोलामा ७ हजार ५०५ रुपैयाँ पुगेको थियो। यस्तै माघ १८ गते चाँदीको मूल्यमा तोलामा १५ सय ६५ रुपैयाँको ऐतिहासिक गिरावट दर्ता भएको थियो।

प्रतिक्रिया