दोब्बरले घट्यो टिमुरको उत्पादन

दोब्बरले घट्यो टिमुरको उत्पादन


घोराही ।

दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा कमी आएको हो ।

जिल्लाबाट आव २०७८/७९ मा दुई लाख ४१ हजार ७४२ किलो बिक्री भएको थियो । आव २०७९/८० मा एक लाख ५ हजार ९०६ किलो मात्रै टिमुर बिक्री भएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिए।

उनका अनुसार गत वर्ष करिब १ लाख ५५ हजार आठ सय ३६ किलो टिमुर कम बिक्री भएको छ ।

सहायक वन अधिकृत चौधरीका अनुसार आव २०७८/७९ मा राष्ट्रिय वनबाट २९ हजार ५ सय ५० किलो र निजी वनबाट २ लाख १२ हजार १९२ किलो टिमुर जिल्ला बाहिर बिक्रीका लागि लगिएको थियो । बिक्री गरी ३ लाख २० हजार राजस्व संकलन भएको सहायक वन अधिकृत चौधरीले बताए ।

आव २०७९/८० मा राष्ट्रिय वनबाट १३ हजार किलो र निजी वनबाट ७२ हजार ९०६ किलो बिक्री हुँदा १ लाख ४५ हजार मात्रै राजस्व संलन भएको छ । आव २०७८/७९ मा राष्ट्रिय वनबाट ४४ हजार १ सय किलो तेजपात, ३ हजार किलो अमला, ४३ हजार १० किलो रिठा, १ हजार ५ सय किलो बार्रो, लहरे गुर्जो २ हजार ५ सय केजी, ब्राहमी १ हजार, चुत्रोको बोक्रा २ हजार किलो बिक्री भएको छ भने निजी वनबाट आव २०७९/८० मा बर्रो ५ सय किलो, लहरे गुर्जो २ हजार किलो, धाइरोको फूल, बेलचना, पुदिना र भृङ्राज ५/५ सय किलो, दुधे-लहरा १ हजार ५ सय किलो, ब्राहमी १ हजार किलो, चुत्रोको बोक्राका ७ हजार ७ सय किलो, दालचिनी ३ हजार किलो, टटेलोको बोक्रा ४हजार किलो तथा कालीकाठको दाना १४ हजार किलो बिक्री भएको छ ।

निजी वनबाट आव २०७८/७९ मा २७ हजार ४ सय किलो दालचिनीका बोक्रा, काउलो बोक्रा २९ हजार किलो, मालागेँडी ५५ हजार २ सय किलो, तिगेडी, चुत्रो र कालीकाठ १ हजार किलो, पाषणवेद १ हजार ६ सय किलो, अमलावेद ६ सय ५० किलो निर्यात भएको थियो भने आव २०७९/८० मा दालचिनीको बोक्रा सात हजार एक सय ४५ किलो, मालागेँडी १३ हजार ५ सय, काउलो बोक्रा ४३ हजार ९ सय ९५किलो, अमला फल एक हजार किलो, तिगेडी ५ हजार र कालीकाठ ८० हजार ८० किलो जडीबुटी बिक्री भएको सहायक वन अधिकृत चौधरीले जानकारी दिए ।

गत वर्ष जिल्लामा टिमुर कम उत्पादन हुँदा बिक्रीमा पनि कमी आएको सहायक वन अधिकृत चौधरीले बताए । हिउँदमा पानी नपर्दा टिमुर उत्पादनमा कमी आएको हुनसक्ने भन्दै सहायक वन अधिकृत चौधरीले भने, ‘जिल्लाबाट बिक्री भएको टिमुरको परिमाणलाई हेर्ने हो भने अघिल्लो वर्षको तुलनामा गत आव करिब दोब्बर कम मात्रामा टिमुर बिक्री भएको छ ।’

टिमुर उत्पादनका लागि दाङलाई पकेट क्षेत्रका रूपमा लिने गरिन्छ । टिमुर पकेट क्षेत्रअन्तर्गत जिल्लाको बङ्गलाचुली गाउँपालिकासहित घोराही र तुलसीपुर उपमहानगरपालिकाको पहाडी क्षेत्रमा टिमुर खेती हुने गरेको छ ।

राष्ट्रिय वन क्षेत्रबाट उत्पादित टिमुरबाट राजस्व लिने गरिन्छ भने निजी वनबाट उत्पादन भएको टिमुरको राजस्व लिने नगरिएको सहायक वन अधिकृत चौधरी बताउँछन् ।