काठमाडौ । नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु हुँदैछ। यस अवसरमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सम्पूर्ण देशवासी, खेलाडी तथा आयोजकलाई शुभकामना दिएका छन्।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री शाहले एनपीएल छोटो समयमै नेपालको सबैभन्दा ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको बताएका छन्। उनले लेखेका छन्, ‘नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता एनपीएल आजदेखि सुरु हुँदैछ। केही वर्षमै यो ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको छ। लिगमा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरहरूलाई हार्दिक स्वागत छ। नेपाली खेलाडी, आयोजक र क्यानलाई यो सुन्दर प्रतियोगिताका लागि शुभकामना। नेपाली क्रिकेट अमर रहोस्।’
क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान) का अनुसार एनपीएलको उद्घाटन सोमबार साँझ ५ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री बालेन शाहले नै गर्नेछन्। आजदेखि सुरु हुने यो प्रतियोगिता आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।
आज हुने उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। लुम्बिनी लायन्स रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रनेछ भने सुदूरपश्चिम रोयल्सको कमान दीपेन्द्रसिंह ऐरीले सम्हाल्नेछन्।

प्रतिक्रिया