काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको बिग्रँदो छवि सुधार्न नेतृत्व र कार्यकर्ता गम्भीर रूपमा लागिपरेको बताएका छन्।
तनहुँको म्याग्देमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतामा कांग्रेसप्रति अझै पनि अपार माया र विश्वास रहेको उल्लेख गरे, तर पार्टीभित्रका कमीकमजोरी सुधार गर्दै राष्ट्रिय जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए।
आगामी स्थानीय र प्रदेश तहका निर्वाचनमा अन्य दलसँग कुनै पनि किसिमको गठबन्धन नगरिने स्पष्ट पार्दै महामन्त्री पौडेलले कांग्रेसलाई सत्ताको कुनै लोभ नरहेको जिकिर गरे।
जनतामा देखिएको असन्तुष्टि र आक्रोशलाई सम्बोधन गर्दै कानुनी राज्यको वास्तविक अनुभूति गराउने गरी सरकार र पार्टीले काम गर्नुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया