संस्थापनले भित्र्याएका नेता असन्तुष्ट, देउवा समूह फर्काउने रणनीतिमा

संस्थापनले भित्र्याएका नेता असन्तुष्ट, देउवा समूह फर्काउने रणनीतिमा


काठमाडौं। नेपाली कांग्रेसभित्र दुई समूहबीच शक्ति कसको बलियो बनाउने होड तीव्र बन्दै गएको छ। संस्थापन पक्षले १५औँ महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको अवस्थामा निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको तयारी तीव्र पारेको छ।

संस्थापनले गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गरेर आगामी चार वर्षे कार्यकालका लागि गगन थापाको सभापतित्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ। यता देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्न मातहतका अधिवेशनहरू तीव्र रूपमा अघि बढाइरहेको छ।

सर्वोच्च अदालतमा विचाराधीन रहेको पार्टी नेतृत्वको आधिकारिकता विवादका कारण समानान्तर महाधिवेशन हुने निश्चितजस्तै भइसकेको छ। यसबीच सर्वोच्चको फैसला आउने समयसम्म कसले आफ्नो शक्ति कति बलियो बनाउने भन्ने होड दुवै समूहमा उत्तिकै छ।

संस्थापनले भित्र्याएका नेताहरू असन्तुष्ट 

सभापति गगन थापाले महाधिवेशनको पूर्वसन्ध्यामा देउवा समूहका वरिष्ठ नेताहरूलाई आफ्नो समूहमा भित्र्याएर शक्ति बढाउने प्रयास गरेका थिए। १४औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित महालक्ष्मी उपाध्याय ‘डिना’, बालकृष्ण खाण, मीन विश्वकर्मा, रामहरि खतिवडा, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, ईश्वरी न्यौपाने, सीता गुरुङ, जीवनबहादुर शाहीसहित तीन दर्जनभन्दा बढी नेता संस्थापनको महाधिवेशनमा सहभागी भएका थिए।

तर सहमतिका आधारमा मुख्यमन्त्री पाण्डे खुला उपसभापति, उपाध्याय महिला महामन्त्री र गुरुङ समावेशी उपसभापतिमा उम्मेदवार बने पनि जित्न सकेनन्। त्यसपछि सभापति थापाले आफूहरूसँगको सहमति कार्यान्वयन नगरेको भन्दै त्यो समूह असन्तुष्ट रहेको बताइन्छ। ‘हामी जुन सहमति गरेर आएका थियौँ, त्यो सहमति सभापति र सिंगो विशेष महाधिवेशनबाट आएको संस्थापनले कार्यान्वयन गरेन,’ त्यो समूहका एक नेताले भने।

देउवा समूहको रणनीति : गएकालाई फर्काउने

यता देउवा समूहले आफ्नो समूहबाट गएका नेताहरूलाई फर्काएर शक्ति बलियो बनाउने रणनीति अख्तियार गरेको छ। देउवा समूहका नेता एनपी साउद अर्को समूहमा गएका नेताहरू फर्कन चाहे स्वागत गरिने बताउँछन्। ‘नेपाली कांग्रेस एकै हो। विचार, सिद्धान्त, दृष्टिकोण, कार्यक्रम, इतिहासको विरासत र भविष्यको आशाका दृष्टिकोणले हाम्रा सोचहरू एकै छन्। त्यहाँ गएका साथीहरूसँग हाम्रो कुनै मतभेद, मनभेद छैन। विशेष अधिवेशनमा गएका साथीहरू पनि यदि फर्किन्छन् भने तिनीहरू सबैलाई हाम्रो हार्दिक स्वागत हुन्छ,’ साउदले भने।

साउदका अनुसार देउवा समूहले ६७ सय वडामध्ये करिब ६ हजार १०७ वडामा अधिवेशन सम्पन्न गरिसकेको छ। चुनदेवीस्थित सम्पर्क कार्यालयका अनुसार ४८० पालिका अधिवेशन, १७० प्रदेश सभा क्षेत्रीय अधिवेशन, ८५ प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र ८ जिल्ला अधिवेशन सकिएको छ। कात्तिक ३० गतेभित्र सबै जिल्ला अधिवेशन सक्ने लक्ष्य राखिएको छ।

महाधिवेशन आयोजक समितिका संयोजक पूर्वमहामन्त्री डा. शशांक कोइरालाले संस्थापनको महाधिवेशनमा सहभागी भएर पराजित भएका नेताहरूसँग अनौपचारिक भेटघाट गरिरहेका छन्। उनीहरूलाई पुरानै समूहमा फर्काउने प्रयास स्वरूप भेटघाट भइरहेको सचिवालयले जनाएको छ।

देउवा समूहमा अहिले को–को सक्रिय छन्?

देउवा समूहमा निवर्तमान सभापति शेरबहादुर देउवा, आयोजक समितिका संयोजक डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्ण सिटौला, पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वउपसभापति प्रकाशमान सिंह, डा. आरजु राणा देउवा, आनन्द ढुंगाना, उमाकान्त चौधरी, एनपी साउद, विजय गच्छदार, रमेश लेखक, मोहनबहादुर बस्नेत, शंकर भण्डारीलगायतका नेताहरू सक्रिय छन्।

पूर्णबहादुर खड्का भने संस्थापनका गतिविधिमा सहभागी नभए पनि देउवा समूहको समानान्तर महाधिवेशन गतिविधिमा पनि गत साउनको राष्ट्रिय भेलापछि देखिएका छैनन्। सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरसहित केही जिल्ला सभापतिहरू पनि देउवा समूहमै छन्।

शेखर कोइराला समूह तटस्थ

दुई समूह शक्ति संघर्षमा लागेका बेला नेता डा. शेखर कोइरालाको समूह भने दुवैतिर नलागी तटस्थ बसिरहेको छ। डा. शेखरको समूहमा बलबहादुर केसी, बद्री पाण्डे, सञ्जय गौतम, सरिता प्रसाईंलगायतका नेता छन्।

डा. कोइरालाले आफू कुनै पनि पक्षको महाधिवेशनमा नलाग्ने र पार्टी एक हुनुपर्ने एजेन्डा बोकेर तिहारपछि देश दौडाहमा निस्कने बताएका छन्। ‘म कतैको महाधिवेशनमा पनि लाग्दिनँ। मेरो मुख्य ध्येय पार्टी एक हुनुपर्छ भन्ने हो। त्यही एजेन्डा बोकेर देशभर जाने योजना बनाएको छु,’ उनले भनेका थिए।