‘दक्षिणका जोगीलाई खुट्टा ढोग्छौँ, आफ्नै विद्वान् चिन्दैनौँ’ : ओली

‘दक्षिणका जोगीलाई खुट्टा ढोग्छौँ, आफ्नै विद्वान् चिन्दैनौँ’ : ओली


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दक्षिणतिरबाट आउने जोगीलाई खुट्टा समातेर ढोग्ने तर आफ्नै देशका विद्वान्लाई नचिन्ने प्रवृत्ति रहेको टिप्पणी गरेका छन् ।

मंगलबार काठमाडौंमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले नेपालीहरूले आफ्नै विद्वान् र ग्रन्थलाई महत्त्व नदिने गरेको बताएका हुन् ।

‘हामी आफैँले पनि दक्षिणतिरका जोगी आए भनेदेखि ठ्याप्पै खुट्टा समातेर ढोग्न मन लागिहाल्ने चलन छ,’ ओलीले भने, ‘आफ्नाकहाँ विद्वान् त्यति चिन्दैनौँ।’

उनले नेपालीहरूले आफ्नै देशमा लेखिएका ग्रन्थको उद्धरण नगर्ने तर विदेशीले लेखेका ग्रन्थलाई उद्धृत गर्ने गरेको बताए ।

कार्यक्रममा ओलीले ‘नक्कली भगवान्’ जन्मिएर हैरान पारेको टिप्पणीसमेत गरे । उनले पार्वतीले श्राप दिएपछि देवताहरूको जन्म हुन बन्द भएको प्रसंग सुनाउँदै अहिले फेरि नक्कली भगवान् जन्मिएको बताए ।

‘२२–२३ सय वर्षअघि भगवान्हरू छ्यासछ्यासती जन्मिँदा तेत्तिसकोटी जन्मिए। धन्न पार्वतीले श्राप दिइछन् र देवता जन्मिन पाएनन्,’ ओलीले भने, ‘अब कुनै देवताको पनि सन्तान नहोस् भनेपछि ठप्प भए देवताहरू, तर पार्वतीले श्राप दिएपछि फेरि नक्कली भगवान् जन्मिएर हैरान छ।’