टिकटकले नेपालमा तीन महिनामा हटायो २० लाखभन्दा बढी भिडिओ

टिकटकले नेपालमा तीन महिनामा हटायो २० लाखभन्दा बढी भिडिओ


काठमाडौं । सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने २० लाख ३६ हजारभन्दा बढी भिडिओ हटाएको छ ।

टिकटकले बिहीबार सार्वजनिक गरेको अप्रिलदेखि जुनसम्मको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्टअनुसार, उक्त अवधिमा नेपालमा हटाइएका भिडिओको सङ्ख्या २० लाख ३६ हजार १९१ रहेको छ । यो नेपालबाट टिकटकमा प्रकाशित कुल भिडिओको ०.४ प्रतिशत हो ।

रिपोर्टअनुसार, हटाइएका भिडिओमध्ये ९९.५ प्रतिशत प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै टिकटकले पहिचान गरी हटाएको थियो । त्यस्तै, नियम उल्लङ्घन गर्ने ९२.३ प्रतिशत भिडिओ २४ घण्टाभित्र हटाइएका थिए । थप समीक्षापछि ३३ हजार ५०३ भिडिओ पुनःस्थापना गरिएको टिकटकले जनाएको छ ।

विश्वव्यापी रूपमा भने टिकटकले उक्त तीन महिनामा १८ करोड ८२ लाख ९८ हजार १४१ भिडिओ हटाएको छ । यो प्लेटफर्ममा अपलोड भएका कुल सामग्रीको करिब ०.५ प्रतिशत हो । तीमध्ये १८ करोड ३३ लाखभन्दा बढी भिडिओ स्वचालित पहिचान प्रविधिको प्रयोगबाट हटाइएको रिपोर्टमा उल्लेख छ ।

विश्वभर हटाइएका भिडिओमध्ये ९९.५ प्रतिशत प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै पहिचान गरिएका थिए भने ९२.७ प्रतिशत भिडिओ २४ घण्टाभित्र हटाइएका थिए । थप समीक्षापछि ६२ लाख ६२ हजारभन्दा बढी भिडिओ पुनःस्थापना गरिएको कम्पनीले जनाएको छ ।

टिकटकले नियम कार्यान्वयनलाई एकाउन्ट र कमेन्टको तहमा समेत विस्तार गरेको छ । रिपोर्टअनुसार, विश्वव्यापी रूपमा १४ करोड ६८ लाखभन्दा बढी नक्कली एकाउन्ट हटाइएको छ । त्यस्तै, १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ता हुन सक्ने आशङ्कामा २ करोड ६८ लाखभन्दा बढी एकाउन्ट हटाइएको छ । कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेको भन्दै २७ करोड ८३ लाखभन्दा बढी कमेन्टसमेत हटाइएको रिपोर्टमा उल्लेख छ ।

लाइभ स्ट्रिमिङमा पनि टिकटकले कारबाही गरेको जनाएको छ । यस अवधिमा ७ करोड ६७ लाखभन्दा बढी लाइभ सेसन र २ करोड ६७ लाखभन्दा बढी लाइभ क्रिएटरमाथि चेतावनी दिने वा आम्दानी गर्ने सुविधा हटाउनेलगायतका कारबाही गरिएको छ । समीक्षापछि २३ लाखभन्दा बढी लाइभ सेसन पुनःस्थापना गरिएका छन् ।

टिकटकले ठूलो सङ्ख्यामा नियम उल्लङ्घन गर्ने सामग्री पहिचान र हटाउन स्वचालित निगरानी प्रणालीको प्रयोग गर्दै आएको जनाएको छ । कम्पनीले प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण कायम गर्न र सामग्री नियमनमा पारदर्शिता बढाउन नियमित रूपमा यस्तो रिपोर्ट सार्वजनिक गर्दै आएको छ ।

टिकटकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट कम्पनीको ट्रान्सपरेन्सी सेन्टर मा उपलब्ध छ ।