काठमाडौं । क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले आफ्नो प्रणालीमा भएको सुरक्षा घटनाका क्रममा करिब ६ अर्ब ३० करोड डलर बराबरको रकम चोरी भएको बताएको छ । यो क्रिप्टोकरेन्सी इतिहासकै सबैभन्दा ठूलो चोरी हुन सक्ने देखिएको छ ।
विश्वकै ठूलो क्रिप्टो एक्सचेन्ज बाइनान्सले बिहीबार निक्षेप र रकम झिक्ने सेवा स्थगित गरेको जनाएको छ । सम्भावित ह्याकिङपछि करिब ३ अर्ब डलर बराबरको रकम रोक्का गरिएको कम्पनीले बताएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार एक ह्याकरले कम्पनीका एक इन्जिनियरको ह्याक भएको ल्यापटपमा पहुँच बनाएर अनधिकृत कारोबार गर्न सफल भएको बाइनान्सले जनाएको छ ।
कम्पनीले चोरीका कारण भएको सम्पूर्ण क्षति आफैँले बेहोर्ने र प्रयोगकर्ताको रकम सुरक्षित रहेको बताएको छ ।
अलजजिरालाई दिएको विज्ञप्तिमा बाइनान्सले भनेको छ, ‘हाम्रा टोलीहरू यो समस्या सुरक्षित र पूर्ण रूपमा समाधान गर्न चौबीसै घण्टा काम गरिरहेका छन् ।’
कम्पनीले अपराधीहरूको पहिचान पुष्टि गर्न र उनीहरूलाई कानुनी दायरामा ल्याउन कानुन कार्यान्वयन गर्ने निकायहरूसँग नजिकबाट सहकार्य गरिरहेको पनि जनाएको छ ।
अनुसन्धान पूरा भएपछि घटनाको प्राविधिक पक्षबारे विस्तृत विवरण सार्वजनिक गर्ने बाइनान्सले बताएको छ ।
बाइनान्सका संस्थापक तथा सबैभन्दा ठूलो सेयरधनी चाङपेङ झाओले पनि यसअघि एक्सचेन्ज ह्याक भएको देखिएको बताएका थिए ।
ब्लकचेनसम्बन्धी अनुसन्धान गर्ने कम्पनी टीआरएमले आफ्नो प्रतिवेदनमा यो आक्रमण उत्तर कोरियाको ह्याकर समूह ‘ट्रेडर ट्रेटर’ले गरेको उच्च विश्वास रहेको जनाएको छ । अनुसन्धानकर्ताहरूले उक्त समूहलाई ‘लाजरस ग्रुप’सँग जोड्दै आएका छन् ।
टीआरएमका विश्वव्यापी नीति प्रमुख एरी रेडबोर्डले यस आक्रमणलाई ‘अभूतपूर्व’ र ‘महत्त्वपूर्ण मोड’का रूपमा व्याख्या गरेका छन् ।
रेडबोर्डले अलजजिरासँग भनेका छन्, ‘उत्तर कोरियाले यति ठूलो परिमाणमा रकम चोरी गर्दा त्यसबाट प्राप्त पैसा हतियार विस्तार र अन्य अस्थिरता निम्त्याउने गतिविधिमा प्रयोग हुन्छ । त्यसैले यो केवल क्रिप्टो चोरीको घटना नभई विश्वव्यापी सुरक्षासँग जोडिएको विषय हो ।’
चोरीको घटनापछि विश्वकै लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य करिब ५ प्रतिशतले घटेर ७७ हजार डलरभन्दा तल झरेको छ ।
अस्ट्रेलियाको सिड्नीस्थित म्याक्वेरी विश्वविद्यालयमा क्रिप्टो बजारका विज्ञ सन फोलीले अलजजिरासँग बाइनान्स विश्वकै ठूला केन्द्रीकृत एक्सचेन्जमध्ये एक भएकाले यसमाथिको आक्रमणले आम लगानीकर्ताको विश्वासमा धक्का पुर्याउन सक्ने बताएका छन् । यसले क्रिप्टो सम्पत्तिको मूल्यमा समेत गिरावट ल्याउन सक्ने उनको भनाइ छ ।
फोलीका अनुसार यो घटनाले केन्द्रीकृत एक्सचेन्जमा रहेका जोखिम उजागर गरेको छ । यसले थप कारोबारकर्तालाई विकेन्द्रीकृत एक्सचेन्ज प्रयोग गर्न प्रेरित गर्न सक्छ ।
उनले भनेका छन्, ‘केन्द्रीकृत एक्सचेन्जमा राखिएको कुनै पनि सम्पत्ति त्यस एक्सचेन्ज जति सुरक्षित छ, त्यति नै सुरक्षित हुन्छ । एक्सचेन्जमा जति धेरै रकम हुन्छ, त्यो त्यति नै ठूलो निशाना बन्छ ।’
बाइनान्समा भएको ह्याकिङले यसअघि क्रिप्टो चोरीमा कायम सबै रेकर्डलाई उछिनेको छ । यसअघि सन् २०२५ मा उत्तर कोरियाको राज्यसमर्थित ह्याकर समूह लाजरस ग्रुपले क्रिप्टो एक्सचेन्ज बाइबिटबाट १ अर्ब ५० करोड डलर चोरी गरेको थियो ।
टीआरएमले तयार पारेको सन् २०२६ को ‘क्रिप्टो अपराध प्रतिवेदन’अनुसार सन् २०२५ मा करिब १५० वटा ह्याकिङ घटनामार्फत साइबर अपराधीहरूले २ अर्ब ८७ करोड डलर बराबरका क्रिप्टो सम्पत्ति चोरी गरेका थिए ।
सन् २०१७ मा चीनमा झाओले स्थापना गरेको बाइनान्ससँग करिब १५५ अर्ब डलर बराबरको सम्पत्ति व्यवस्थापनमा रहेको छ । यो रकम अन्य सबै क्रिप्टो एक्सचेन्जको तुलनामा सबैभन्दा बढी भएको कोइनमार्केटक्यापले जनाएको छ ।

प्रतिक्रिया