एक-दुई न्यायाधीशलाई महाभियोगको स्टन्ट देखाएर न्यायालय सुध्रिँदैन: राजेन्द्र लिङ्देन

एक-दुई न्यायाधीशलाई महाभियोगको स्टन्ट देखाएर न्यायालय सुध्रिँदैन: राजेन्द्र लिङ्देन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायाधीशहरूविरुद्ध महाभियोगको संसदीय प्रक्रिया अघि बढाउने निर्णयलाई ‘व्यक्तिगत स्टन्ट’ को संज्ञा दिँदै एक-दुई जना न्यायाधीशलाई हटाएर न्यायालयमा व्याप्त भ्रष्टाचार र बेथिति अन्त्य नहुने ठोकुवा गरेका छन्। न्यायालय दलीय भागबण्डा, बिचौलियाको सेटिङ र नेता बचाउने अखडा बनेको आरोप लगाउँदै लिङ्देनले अब सिङ्गो न्यायिक प्रणालीको पुनर्नियुक्ति र आमूल पुनर्गठनविना देशमा विधिको शासन कायम हुन नसक्ने स्पष्ट पारेका छन्।

अदालतबाट ठूला भ्रष्टाचार काण्डका अभियुक्तहरूलाई वारेसको सहुलियत दिइने तर सर्वसाधारण र सत्य समाचार लेख्ने पत्रकारहरूमाथि बर्दीको डन्डा चलाइने दोहोरो मापदण्डले न्यायालयको साख समाप्त भएको उनको भनाइ छ। रास्वपाले ल्याउने महाभियोगको विषयवस्तु र राजनीतिक दाउपेच हेरेर मात्रै निर्णय लिने बताउँदै लिङ्देनले सत्ता र नयाँ दलहरूलाई सस्तो पपुलिजम छोडेर अदालतमा मौलाएको दलीय सिन्डिकेट जरैदेखि उखेल्न चुनौती दिएका छन्।