हुलाकी राजमार्ग आयोजनाको दुर्दशा

हुलाकी राजमार्ग आयोजनाको दुर्दशा

१२ वर्षमा बल्ल ६० प्रतिशत काम

विकास टाइम्स
30
Shares

काठमाडौँ । हुलाकी राजमार्ग आयोजना निर्माणमा चरम ढिलासुस्ती भएको छ । राष्ट्रिय गौरवको सो आयोजना निर्माण सुरु भएको १ दशकभन्दा बढी भयो । तर, अहिलेसम्म आयोजना निर्माणको काम सम्पन्न हुन सकेको छैन ।

आर्थिक वर्ष २०६६/०६७ देखि निर्माण सुरु भएको हुलाकी राजमार्गको हालसम्म ६० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । पूर्व–पश्चिम, उत्तर–दक्षिण र सहायक सडक सञ्जाल गरी कुल १ हजार ७९२ किलोमिटरमध्ये हालसम्म १ हजार ७५ किलोमिटर सडक कालोपत्र भएको हो ।

अझै ४० प्रतिशत सडक मर्मत र कालोपत्रको काम बाँकी छ । आयोजना निर्माण सुरु भएको १२ वर्ष बित्दा बल्ल ६० प्रतिशत काम भएको देखिन्छ ।

चालु आव २०७९/०८० को फागुन मसान्तसम्म हुलाकी राजमार्ग आयोजनाले ६० प्रतिशत बजेट खर्च गरेको छ । सरकारले चालु आवमा आयोजना निर्माणका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । चालु आवमा २०० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य भए पनि फागुन मसान्तसम्म ४० किलोमिटर सडक कालोपत्र भइसकेको उनले बताए ।

आव २०८०/८१ सम्म निर्माण गरिसक्ने लक्ष्य लिइएको हुलाकी आयोजना निर्माण गर्न अझै ४ वर्ष लाग्ने देखिएको छ । सुनसरी, कपिलवस्तु र धनगढीलगायत क्षेत्रमा सडक विस्तार र मर्मत कार्य अघि बढ्न सकेको छैन् । ती क्षेत्रमा स्थानीयको अवरोध पहिलेदेखि नै कायम छ ।

यता, चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै सडक विस्तार गर्ने रेखांकन परिवर्तन गर्नुपर्ने छ । निकुञ्ज क्षेत्र हुँदै सडक रुट लैजाँदा जंगली जनावर र वन क्षेत्रलाई असर गर्ने भन्दै वन मन्त्रालयले स्वीकृति दिएको छैन । निकुञ्ज छलेर रुट परिवर्तन गरेपछि मात्र वन मन्त्रालयबाट स्वीकृति पाएको ढकालले बताए ।

यसरी हेर्दा, स्थानीयको अवरोध र निकुञ्ज क्षेत्रमा गरी कुल २११ किलोमिटरमा अहिले ठेक्का लाग्न नसकेको उनले बताए । २११ किलोमिटरबाहेक अन्य सडक सञ्जालको काम १ वर्षभित्र सम्पन्न हुने उनको भनाइ छ ।

‘ठेक्का लगाउन बाँकी रहेको र पुलबाहेकको काम आगामी आवभित्र सम्पन्न हुन्छ,’ उनले भने, ‘ठेक्काको अनुमति पायौँ भने आव २०८३/०८४ सम्ममा सकिन्छ ।’ बाँकी ठेक्का समयमै लगाउन सकेमा करिब ४ वर्षभित्र आयोजना सम्पन्न हुने उनको भनाइ छ ।

हुलाकी राजमार्गअन्तर्गत विभिन्न ठाउँमा २१९ वटा पुल निर्माण गर्नुपर्ने छ । जसमध्ये हालसम्म १५० भन्दा बढी पुल निर्माण भइसकेको आयोजना पक्षले जनाएको छ । कतिपय पुल निर्माणाधीन अवस्थामा छन् भने कतिपय पुलको ठेक्का लाग्न अझै बाँकी छ ।

वित्तीय तरलताले ग्रसित ठेकेदार

हुलाकी राजमार्ग आयोजनाका अनुसार पछिल्लो समय ठेकेदार कम्पनी वित्तीय तरलतामा फसेको छ । नगद प्रवाहमा देखिएको समस्याका कारण ठेकेदार कम्पनीले सोचेअनुसार काम गरेको छैन । बैंक तथा वित्तीय संस्थाबाट ऋण नपाएको ठेकेदारको गुनासो छ ।

आयोजनाको ठेकेदार कम्पनी र कामदारहरूले वित्तीय तरलताका कारण समस्या परेको गुनासो गर्न थालेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयका निर्देशक चूडाराज ढकालले जानकारी दिए । ‘अहिले ठेकेदार कम्पनी र कामदारले नगद प्रवाहमा समस्या देखिएको गुनासो गरिरहेका छन् । यसले पनि उनीहरूले मन लगाएर काम गरिरहेका छैनन्,’ उनले भने, ‘उनीहरूलाई केही बजेट उपलब्ध गराइदिने हो भने कामले थप गति लिने अपेक्षा गरेका छौँ ।’

कुल ६५ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको सो आयोजनाले हालसम्म ५७ अर्ब रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ । आयोजनामा नेपाल सरकारबाट ५७ अर्ब २० करोड र भारत सरकारको ८ अर्ब रुपैयाँ लगानी छ ।