चेक रिपब्लिकका अनररी कन्सुल जनरलको नयाँ डिनमा विष्णु कुमार अग्रवाल नियुक्त

चेक रिपब्लिकका अनररी कन्सुल जनरलको नयाँ डिनमा विष्णु कुमार अग्रवाल नियुक्त


काठमाडौं ।
अवैतनिक वाणिज्य तथा महावाणिज्य दूतहरुको संगठन अनररी कन्सुलर कर्प्स नेपाल (एचसीसीएन) को १६ औं साधारणसभा तथा चार्टर डे काठमाडौंको र्‍याडिसन होटल, लाजिम्पाटमा सम्पन्न भएको छ ।

सम्माननीय उप–राष्ट्रपति श्री रामसाहय प्रसाद यादवको प्रमुख आतिथ्यता तथा माननीय परराष्ट्र मन्त्री श्री एन.पी साउदको विशिष्ट अतिथ्यतामा सम्पन्न भएको साधारण सभाले चेक रिपब्लिकका अनररी कन्सुल जनरल विष्णु कुमार अग्रवाललाई नयाँ डिनका रुपमा नियुक्त गरेको हो ।

सम्माननीय उपराष्ट्रपति श्री रामसाहय प्रसाद यादवले उद्घाटन गरेकाे सो कार्यक्रममा उनले नेपालको द्वौत्य सम्बन्ध रहेका तर आवासीय राजदूतावास नभएका विभिन्न ५९ देशमा अनररी कन्सुलर कर्प्सले पुर्याएको योगदानप्रति कृतज्ञता ब्यक्त गरे ।

त्यसैगरी, माननीय परराष्ट्रमन्त्री एन पी साउद ज्यूले एचसीसीएनका सदस्य मुलुकहरुलाई नेपाल भ्रमणका लागि मात्र गन्तव्य नभई लगानीको राम्रो गन्तव्य भएको सन्देश दिन आग्रह गरे । उनले दौत्य सम्बन्ध कायम भएका देशहरुको प्रतिनिधित्व गर्दै गरेको निस्वार्थ सेवा कार्यहरु तथा नेपालको ब्यापार तथा पर्यटन प्रवद्र्धनमा खेलेको भूमिको प्रशंसा गर्दै एचसीसीएनका सदस्यहरुबाट प्रदान गर्ने सेवालाई सहज गर्न पहल गर्ने पनि बताए ।

कार्यक्रममा एचसीसीएनका डिन दिनेश श्रेष्ठले भियना कन्सभेनसनअन्तर्गत रहेर एचसीसीएन र यसका सदस्यहरुले आफ्नो जिम्मेबारी निर्वाह गरिरहन भएको बताए

कार्यक्रममा उपराष्ट्रपतिले एचसीसीएनका पुर्व डिनहरु गजेन्द्र बहादुर श्रेष्ठ, अम्बिका श्रेष्ठ (स्पेन), विनय मान श्रेष्ठ (कोलोम्बो), पद्म ज्योती (साइप्रस), वसन्त राज मिश्र (चिली), श्रीराम लामिछाने (लक्जमवर्ग), राजेन्द्र कुमार खेतान (पोर्चुगल), आङ छिरिङ शेर्पा (बेल्जियम), प्रदिप कुमार श्रेष्ठ (दक्षिण अफ्रिका), वसन्त चौधरी (मोरोक्को) र लोकमान्य गोल्छा (पोल्यान्ड) लाई सम्मान गरेका थिए ।

१६ औं साधारणसभाले नयाँ डिनका रुपमा अनररी कन्सुल जनरल श्री विष्णु कुमार अग्रवाललाई चयन गरेको छ । सन् २०१० देखि चेक रिपब्लिकको अनररी कन्सुल रहनु भएका अग्रवाललाई सन् २०१५ मा अनररी कन्सुल जनरलमा पदोन्नती गरिएको थियो । भर्खरै नेपाल उद्योग परिसंघको अध्यक्षको कार्यकाल सम्पन्न गरेका अग्रवाल एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक रहेका छन् । उनलाई सन् २०१९ मा चेक रिपब्लिकको प्रागमा आयोजना भएको वल्र्ड अनररी कन्सुलमा संसारकै सर्वोत्कृष्ट कन्सुल अवार्डबाट सम्मान गरिएको थियो ।