काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको दोस्रो दिन आइतबारसम्म ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आइतबार विज्ञप्ति जारी गर्दै असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशनअन्तर्गत ७३ जिल्लाका ६ हजार १३२ वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएको जानकारी दिएका हुन्।
निर्वाचन समितिका अनुसार आइतबार ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ (क्षेत्र नं. ६ बाहेक), सुनसरी, सप्तरी (क्षेत्र नं. २ र ४ बाहेक), धनुषा, महोत्तरी, सर्लाही (क्षेत्र नं. २ बाहेक), रौतहट (क्षेत्र नं. १ बाहेक), बारा, पर्सा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ, नवलपुर, परासी (क्षेत्र नं. २ बाहेक), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, दाङ, बाँके, बर्दिया, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलालीका वडामा अधिवेशन सम्पन्न भएको हो।
निर्वाचन समितिले वडा अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा अघि बढिरहेको जनाएको छ। अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भइरहेका छन्।
समितिका अनुसार रसुवा, नुवाकोट र धादिङमा भने वडा अधिवेशन हुन बाँकी छ। त्यस्तै सप्तरीका क्षेत्र नं. २ र ४, सिरहा, मोरङ क्षेत्र नं. ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २ र परासी क्षेत्र नं. २ लगायतका क्षेत्रमा पनि वडा अधिवेशन बाँकी छ।
बाँकी रहेका तथा सम्पन्न हुन छुटेका वडामा सोमबार असोज ५ गते पनि अधिवेशन प्रक्रिया जारी रहने निर्वाचन समितिले जनाएको छ।
कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदै छ।

प्रतिक्रिया