दूधकै सिजनमा लम्पी स्किनले भटाभट मर्न थाले चौँरी

दूधकै सिजनमा लम्पी स्किनले भटाभट मर्न थाले चौँरी

शैलुङका किसान चिन्ता पोख्छन्- ‘बिरामीलाई पनि बचाउन सकिन्छ कि सकिँदैन’


रामेछाप ।

शैलुङको चौँरी गोठका फुर्वा तामाङको मन अहिले बेचैन छ । दूध उत्पादन हुने मुख्य सिजनमा चौँरी यसरी बिरामी पर्लान् र भटाभट मर्लान् भन्ने उनलाई कहिल्यै लागेको थिएन ।

दैव लागेको भन्नु कि दशा, फुर्वालाई अहिले महाविपत्ति आइलागेको छ । गोठका अधिकांश चौँरी बिरामी छन् । बिरामी परेकामध्ये ५ वटा त मरिसके । बाँकी पनि कति मर्ने हुन्, कति बाँच्ने हुन् ठेगान छैन ।

नेपालभरि फैलिएको लम्पी स्किन रोगले शैलुङका चौँरीलाई पनि छाडेन । सो रोगका कारण फुर्वालगायत अधिकांश किसानका चौँरी बिरामी परेका छन् ।

हालसम्म ३० वटा बढी चौँरी मरिसकेका राष्ट्रिय याक तथा चौँरी किसान महासंघ नेपालका महासचिव दावासंबु शेर्पाले जानकारी दिए ।

शैलुङमा अहिले चौँरीका १५ वटा गोठ छन् । तीमध्ये १४ वटा रामेछापमा छन् भने एउटा दोलखाको भूगोलमा छ । रामेछापको डढुवा र गौश्वाराको जंगलमा चौँरी गोठ छन् । दोलखाको शैलुंगेश्वरी गाउँपालिकामा चौँरी गोठ छ ।

अहिले १५ वटा गोठमा करिब ५०० चौँरी रहेको अनुमान छ । तीमध्ये आधाभन्दा बढी चौँरी बिरामी परेको शेर्पाले दुखेसे पोखे ।

मुख्य दूध उत्पादनको सिजनमा रोग लागेपछि दूधको उत्पादन घटेको छ । सो रोग लागेपछि दूध दिने पशुमा दूध उत्पादन घट्छ । जसले गर्दा किसानले क्षति बेहोर्नुपरेको छ ।

चौँरी बिरामी पर्दा पनि किसानले उचित रूपमा प्राविधिक र औषधि नपाएको शेर्पाले गुनासो गरे ।

‘चौँरी बेँसी झर्न सक्दैन, प्राविधिक लेकको जंगलमा आउँदैनन्, हाम्रो बिरामी पशुलाई कसले उपचार गर्ने ?’, उनको गुनासो छ ।

अहिले बिरामी चौँरीलाई ग्लुकोज पानी, सख्खर पानीलगायत घरेलु औषधि खुवाएर राखिएको शेर्पा बताउँछन् । रोग नियन्त्रणमा नआउँदा कृषकहरू थप क्षतिको भयले चिन्तित भएको उनको भनाइ छ ।

चौँरीलाई शैलुङको गहना नै मानिन्छ । शैलुङ घुम्न आउने मानिसको प्रमुख लक्ष्य चौँरी हेर्ने हुन्छ ।

शैलुङमा उत्पादित चौँरीको घिउ र छुर्पी काठमाडौँ तथा विदेशी बजारमा समेत पुग्छ । यहाँको घिउ र छुर्पी व्यापारीले अग्रिम रूपमा बुकिङ गरेर लैजान्छन् ।

शैलुङसम्म यातायात साधन चल्ने भएपछि किसानलाई गोठसम्म दाना तथा खाद्य सामग्री लैजान निकै सजिलो भएको छ । जसले गर्दा चौँरी पालक कृषकको संख्या वृद्धि भएको छ ।

तर, अकस्मात रोग लागेर चौँरी मरेपछि किसानहरू हतोत्साहित भएका छन् । ‘एउटा चौँरी मर्दा १ लाख रुपैँया क्षति हुन्छ, यो रोगले किसानलाई धेरै क्षति पुर्‍यायो’, शेर्पाले भने ।