सिन्धुली । सुनकोशी गाउँपालिका–५ स्थित सित्खा पुल नजिकै सुनकोशी नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
आइतबार दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुब्दा सुनकोशी गाउँपालिका–४ का दलबहादुर पुलामीका ९ वर्षीय छोरा सफल पुलामी र वडा नम्बर ५ की सरिता विकका १० वर्षीय छोरा उकेश विकको मृत्यु भएको हो ।
बालकहरू नदीमा बेपत्ता भएको खबर प्राप्त हुनासाथ स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय खुर्कोट, प्रहरी चौकी रातामाटा तथा खुर्कोटस्थित सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोली र स्थानीयवासीले संयुक्त रूपमा खोजतलास गरेका थिए ।
खोजीका क्रममा सुनकोशी नदीबाट दुवै बालकको शव फेला परेको प्रहरीले जनाएको छ । मृतक दुवै बालक प्रगतिशील माध्यमिक विद्यालय रातामाटामा अध्ययनरत रहेका थिए ।
आज अत्यधिक गर्मी भएको तथा विद्यालय पनि बिदा रहेका कारण उनीहरू पौडी खेल्न नदीमा गएको अनुमान गरिएको छ ।

प्रतिक्रिया