काठमाडौं । स्विडेन, बेल्जियम र लक्जेम्बर्गका किराना पसलमा रहेका फ्रिज तथा चिस्यान प्रणालीको तापक्रम बढेको घटना सार्वजनिक भएको छ । फ्रान्समा यस्तै आक्रमण भएको केही सातापछि यी देशमा पनि सम्भावित साइबर आक्रमणका कारण यस्तो समस्या देखिएको हो ।
स्विडेनको राष्ट्रिय साइबर सुरक्षा केन्द्रका प्रमुख जोन बिलोले सोमबार रोयटर्स समाचार एजेन्सीलाई केन्द्रले पसलका चिस्यान प्रणाली प्रभावित भएका विभिन्न घटनाको अनुसन्धान तथा प्रतिकार्य गरिरहेको पुष्टि गरेका छन् ।
स्विडेनका विभिन्न पसलका फ्रिजरको तापक्रम रातारात अचानक बढेको त्यहाँका खुद्रा विक्रेता आईसीए र कुपले बताएका छन् ।
यसैबीच, बेल्जियम र लक्जेम्बर्गमा रहेको आहोल्ड डेलहाइजका दर्जनौँ पसलमा पनि रातारात तापक्रम बढेको बेल्गा समाचार एजेन्सीले जनाएको छ । रेफ्रिजरेसन कम्पनी साब्कोबेलका प्रमुख कार्यकारी स्टेफान मोएलान्सलाई उद्धृत गर्दै बेल्गाले यसको कारण साइबर आक्रमण भएको उल्लेख गरेको छ ।
सुपरमार्केट चेनका एक प्रवक्ताले यसअघि नै ‘आईटीसम्बन्धी घटना’ का कारण आफ्ना फ्रिज र फ्रिजर प्रभावित भएको बताएका थिए । कम्पनीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।
आहोल्ड डेलहाइजले गत महिना नेदरल्यान्ड्सको प्रहरीसमक्ष साइबर सुरक्षा घटना भएको जानकारी गराएको थियो ।
यसअघि फ्रान्सका सयौँ सुपरमार्केटका चिस्यान प्रणालीमा भएको साइबर आक्रमणका कारण फ्रिज र फ्रिजरको तापक्रम ५० डिग्री सेल्सियस (१२२ डिग्री फरेनहाइट) सम्म पुगेको थियो । त्यसका कारण खाद्य सामग्री बिग्रिएका थिए भने विभिन्न पसलमा आगलागीसमेत भएको थियो ।
स्विडेनको एउटा पसलले सोमबार सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्ना फ्रिज र फ्रिजरको तापक्रम फ्रान्समा भएको साइबर आक्रमणका बेला जस्तै गरी परिवर्तन गरिएको जनाएको छ ।
निजी स्वामित्वको आईसीएका एक प्रवक्ताले रोयटर्सलाई इमेलमार्फत दिएको जानकारीमा भनेका छन्, ‘रातको समयमा सीमित संख्यामा रहेका पसलहरू प्रभावित भएको घटनाबारे हामी जानकार छौँ । उक्त घटनाले उनीहरूको चिस्यान प्रणाली र फ्रिजरमा असर पारेको थियो ।’
निजी स्वामित्वको खुद्रा विक्रेता कुपले स्विडेनको दैनिक पत्रिका अफ्टोनब्लाडेटलाई आफ्ना ६ वटा पसल यस्तै घटनाबाट प्रभावित भएको जानकारी दिएको छ ।

प्रतिक्रिया