काठमाडौं । नेकपा एमालेको चार दिनसम्म चलेको सचिवालय बैठक आइतबार १० घण्टा चल्यो । शनिबारसम्म अध्यक्ष केपी शर्मा ओली बाहेका पदाधिकारी तथा सदस्यहरूको धारणा आइसकेको थियो । आइतबार अध्यक्ष ओलीले जवाफ दिने र निर्णय लेखिने काम थियो । तर, के निर्णय गर्ने यसैले आइतबारको समयमा धेरै समय खर्च भयो ।
सचिवालयमा उपाध्यक्ष रामबहादुर थापा बादल, उपमहासचिव लेखराज भट्ट र सचिव महेश बस्नेत बाहेक सबै पदाधिकारीले अध्यक्ष ओलीले मार्ग प्रसस्त गर्नुपर्ने धारणा राखेका थिए । अध्यक्ष ओली सचिवालयमा स्पष्ट रूपमा अल्पमतमा परेका थिए । तर, आइतबार १० घण्टा चलेको बैठक अन्ततः पार्टी पुनःगठन कार्यदल बनाउने मध्यमार्गी सहमति गरिएसँगै ओलीका लागि तत्कालका लागि संकट टरेको छ । उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।
एक महिनामा प्रतिवेदन दिने गरी यो कार्यदल बनाइएको छ । बादलको संयोजकत्वमा विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, शंकर पोख्रेल, लेखराज भट्ट, छविलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल र आठै प्रदेशका इन्चार्ज रहेको कार्यदल बनाइएको भट्टले जानकारी दिए । उनले किन पार्टी यो अवस्थामा आयो भन्ने बारे सुझाव दिन यो कार्यदल बनाइएको बताए ।
सचिवालय बैठकमा यसअघि ओलीनिकट रहेका नेताहरूले खुलेरै ओलीको आलोचना गरी मार्ग प्रसस्त गर्न माग गर्दा पूर्वमाओवादीतर्फका नेताहरू भने ओलीको कवज बने । बादल र भट्ट ओलीको बचाउमा उत्रिएका थिए । ओलीको राजीनामा मागेका नेताहरू कार्यदल गठनमा सहमत भएपछि आजको बैठक सकिएको छ ।
यस्तै बैठकले संविधान संशेधन सुझाव कार्यदल पनि गठन गरेको छ । उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा उपाध्यक्षहरू र उपमहासचिवलगायत छन् सदस्य रहेको कार्यदल गठन गरिएको हो ।
यस्तै बैठकले पदाधिकारीको वरीयता पनि निर्धारण गरेको छ । कार्यविभाजन महासचिव पोखरेलले अध्यक्षसँग पदाधिकारीको सुझाव लिएर प्रस्ताव गर्नेछन् ।

प्रतिक्रिया