६ करोडको कवर्ड हल अलपत्र

६ करोडको कवर्ड हल अलपत्र


रामेछाप ।

निर्माण व्यवसायीको लापरबाहीले रामेछापको सदरमुकाम मन्थलीमा निर्माणाधीन बहुउद्देश्यीय कवर्ड हलको निर्माण कार्य अलपत्र परेको छ ।

मन्थली नगरपालिका–२ को भुत्याहा खोला किनारमा तीन वर्ष अघि निर्माण सुरु भएको कवर्ड हलको निर्माण कार्य अझै पुरा भएको छैन । निर्माण कार्य नसकी निर्माण व्यवसायीले काम अलपत्र पारेर छाडेका छन् ।

सो कवर्ड हल २०७८ पुस २० निर्माण सम्पन्न गर्ने गरी सुनकोसी–गिरी जेभी काठमाडौँले २०७७ को असार २६ ठेक्का सम्झौता गरेको थियो । तर तोकिएको भन्दा डबल समय बित्दा पनि निर्माण कार्य अलपत्र नै छ ।

कवर्ड हल निर्माणको लागि वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको ६ करोड ५७ लाख ९२ हजार ८ सय ८० रुपैँयामा निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको थियो । सो हल सार्वजनिक निर्माण तथा कार्यान्वयन इकाई काभ्रेपलाञ्चोक मार्फत निर्माण भएको हो ।

अन्य स्टकचर निर्माणको काम करिब सकेको कम्पनीले रिमोटबाट चल्ने अटोमेटिक चियरको नाम नराख्दा कवर्ड हल अलपत्र बनेको हो । निर्माण कम्पनीले रिमोटबाट चल्ने १ हजार १ सय ८० ओटा कुर्सी राख्न नसक्दा काम नै छाडेर हिँडेको छ ।

सार्वजनिक निर्माण तथा कार्यान्वयन इकाई काभ्रेपलाञ्चोकका इञ्जिनियर कुसुम भट्टराईले अन्य संरचनाको काम भइसकेको भए पनि कुर्सी निर्माणको काम भने नभएको बताए । निर्माण व्यवसायीले ड्रइङ डिजाइन अनुसार कुर्सी मिलाएर राख्न सक्दिन भनेर हिँडेको उनले बताए । निर्माण व्यवसायीले काम गर्न नसक्ने भनेकोले के गर्ने भनेर मन्त्रालयलाई लेखि पठाइसकेको उनले बताए ।

निर्माण कम्पनीले पछिल्लो पटक थप गरेको जेठ मसान्तसम्मको म्याद पनि गुजारी सकेको छ । तर पहिलेको ड्रइङ डिजाइनमा कम्पनी काम गर्न तयार छैन ।

निर्माण व्यवसायी र ठेक्का लगाउने कार्यालयको विवाद हेरेर स्थानीय अब बस्न नसक्ने मन्थली नगपालिका–२ का वडाध्यक्ष सुरेन्द्र कार्कीले बताए । कवर्ड हल नबन्दा खेल क्षेत्र प्रभावित भएकाले तत्काल काम सम्पन्न उनले आग्रह गरे ।