चाडपर्वमा रात्रिकालीन लामो दूरीका बसमा दुई चालक अनिवार्य

चाडपर्वमा रात्रिकालीन लामो दूरीका बसमा दुई चालक अनिवार्य

दुई चालकदेखि मापसे जाँचसम्म कडाइ


काठमाडौं । चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारीसाधनमा दुई चालक राख्नुपर्ने नियम कार्यान्वयनमा कडाइ गर्ने भएको छ ।  यात्रुको सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले लामो दूरीका बसमा दुई चालक भए–नभएको नियमित जाँच तथा अनुगमन गर्ने जनाएको छ । नियमविपरीत एक जना मात्रै चालक राखेर सवारी सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिनेछ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार रातिको समयमा लामो दूरीको यात्रा गर्दा चालकमा थकान बढ्ने भएकाले दुर्घटनाको जोखिम कम गर्न दुई चालकको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न लागिएको हो ।कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले रात्रिकालीन लामो दूरीका सार्वजनिक सवारीमा दुई चालक राख्नुपर्ने नियम थप कडाइका साथ लागू गरिने बताए ।

चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले ट्राफिक प्रहरीले चालकले मादकपदार्थ तथा लागू पदार्थ सेवन गरे–नगरेको समेत कडाइका साथ जाँच गर्ने भएको छ । सवारी सञ्चालनअघि तथा यात्राका क्रममा चालकको अवस्था निगरानी गरिने प्रहरीले जनाएको छ । यसैगरी सवारीसाधनको अवस्था, चालकको योग्यता, टिकट तथा भाडादरमा हुने अनियमिततामाथि समेत निगरानी बढाइनेछ । निर्धारितभन्दा बढी भाडा असुल्ने, टिकटमा अनियमितता गर्ने तथा यात्रुलाई असुविधा हुने गतिविधि रोक्न सम्बन्धित निकायसँग समन्वय गरिने प्रहरीले जनाएको छ ।

चाडपर्व लक्षित अभियानअन्तर्गत मुख्य सडक, बढी सवारी चाप हुने क्षेत्र तथा लामो दूरीका सार्वजनिक सवारी सञ्चालन हुने स्थानमा दिवा र रात्रिकालीन समयमा थप ट्राफिक प्रहरी परिचालन गरिनेछ । प्रहरीले चालकलाई ट्राफिक नियम पालना गर्न र यात्रुलाई पनि सुरक्षित यात्राका लागि आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।