मुग्लिन–मलेखु सडक विस्तार : ४ अर्ब लागत, २० वर्ष टिक्ने डिजाइन

मुग्लिन–मलेखु सडक विस्तार : ४ अर्ब लागत, २० वर्ष टिक्ने डिजाइन


चितवन ।

मुग्लिन–मलेखु सडक विस्तारको काम चितवन खण्डमा थालिएको छ ।

आइतबारदेखि चितवनखण्डको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट सडक विस्तारको काम अघि बढेको हो ।

यसअघि उक्त खण्डको धादिङको मलेखुबाट पनि काम सुरु भइसकेको छ । मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम बर्खाको समयमा पनि निरन्तर भइरहेको नागढुंगा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख किरण कार्कीले जानकारी दिए ।

नागढुंगा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डक स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । ३९ किलोमिटर लामो सो सडक निर्माणको जिम्मा पाएको शर्मा जेडआइसिजी जेभीले सडक विस्तार र स्तरोन्नति गरिरहेको कार्कीले बताए ।

पहिलो चरणमा मलेखुदेखि चितवनको चुम्लिङटारसम्म विस्तारको काम भइरहेको छ । शर्मा जेडआइसिजी जेभीका शिवप्रसाद लामिछानेले चैतदेखि उक्त यो सडकखण्डको काम तीव्रगतिमा गरिरहेको बताए । उनले बर्खाको समयमा असर नपर्ने ठाँउमा निर्माणको कामलाई जारी राखेको बताए ।

सडक नभासिने ठाउँमा पर्खाल निर्माण भइरहेको छ । उनले सडक निर्माणका क्रममा वन र विद्युत्को समस्या नआएर समयमै काम सम्पन्न हुने बताए। चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुनेछ । सडक विस्तार र स्तरोन्नतिपछि न्यूनतम नौ मिटर कालोपत्र हुनेछ ।

बजार क्षेत्रमा भने ४ देखि ६ लेनको सडक निर्माण हुने कार्कीले जानकारी दिए । बजार क्षेत्रमा फुटपाथ, डिभाइडर र बत्तीको पोलसमेत निर्माण गरिने छ । यो खण्डमा पुल निर्माणका लागि सोही कम्पनीसँग सम्झौता भएको छ । काम पनि सँगै सुरु भइसकेको छ । मलेखुसम्म छ पुल निर्माण हुनेछन् । गोमती, चरौदी, खटौटी, हुग्दी, मौवा र बारबाङ खोलामा नयाँ पुल बन्नेछन् ।

यो खण्डमा १० ठाउँमा आकाशे पुल निर्माण गरिनेछन् । मलेखु, शीतलबजार, बेनीघाट, विशालटार, माझीमटार, फिस्लिङ, कुरिनटार, लेवाटार, रमाइलोडाँडा र मुग्लिनमा आकाशे पुल निर्माण गरिने छन् । आयोजनाको यो खण्ड ४ अर्ब ८० करोडको लागतमा विस्तार र स्तरोन्नति गर्न लागिएको हो । केही ठाउँमा रुख काट्न बाँकी छ । यो खण्डमा करिब तीन सय ५० रुख काटिने छन् ।

सडक विस्तार र स्तरोन्नतिपछि कम्तीमा सडक २० वर्ष टिक्ने गरी डिजाइन भएको आयोजनाले जनाएको छ ।संघीय राजधानी काठमाडौं प्रवेश गर्ने र बाहिरिने मुख्य मार्ग भएका कारण पनि यसलाई निर्धारित समयमै सम्पन्न गर्नुपर्ने दबाब छ । नागढुंगा–नौबिसे खण्ड र नौबिसे–मलेखु खण्डमा पनि सडक विस्तारको काम भइरहेको छ ।

विश्व बैंकको आर्थिक सहयोगमा उक्त राजमार्ग विस्तारको काम थालिएको हो । यसका लागि सरकार र विश्व बैंकबीच सन् २०२० मा सम्झौता भएको थियो ।