हुलाकी राजमार्ग : १ सय ७७ किमी वन क्षेत्रमा सडक निर्माण अघि बढाइने

हुलाकी राजमार्ग : १ सय ७७ किमी वन क्षेत्रमा सडक निर्माण अघि बढाइने


चितवन ।

राष्ट्रिय गौरबको हुलाकी राजमार्गअन्तर्गत विगतमा अध्ययन हुन नसकेको खण्डमा अध्ययन अघि बढाउन लागिएको छ ।

वनका कारण राजमार्गको १ सय ७७ किमीको चितवन–नवलपरासी खण्डमा अध्ययन अघि बढाउन लागिएको हो ।

यसअघि बस्तीमा मात्रै निर्माणको काम भइरहेकामा अहिले त्यो सकेर वन क्षेत्रमा पनि निर्माण गर्न खोजिएको हुलाकी राजमार्ग निर्देशनालयका प्रमुख शुभराज न्यौपानेले बताए ।

उनका अनुसार कुनै पनि खण्डको सडक निर्माणमा जानु पहिले त्यहाँ आवश्यकता पर्ने होइन भनी पहिले पनि प्राथमिकता निर्धारण गर्न जरुरी रहेको छ । प्रमुख न्यौपानेले भने, “अहिले नै आवश्यक परेको क्षेत्रमा अध्ययन गरेर सडक निर्माणमा जान लागिएको छ ।”

विगतमा हुलाकी राजमार्गका कतिपय खण्ड निर्माण गर्न नसकिएमा पूर्व–पश्चिम राजमार्ग नै प्रयोग गर्ने गरी छलफल भएको थियो । पूर्व–पश्चिम राजमार्ग हुलाकी राजमार्गको विकल्प नभएको र राज्यसँग रहेको सीमित स्रोत सडकमा लगानी गर्दा त्यसले दिने प्रतिफल पनि हेर्नुपर्ने उनले बताए । प्रमुख न्यौपानेले भने “त्यसैले अहिले चितवनलाई पहिलो प्राथमिकतामा राखेर अध्ययन गर्न लागिएको छ ।”

चितवान र नवलपरासी पहिलो र दोस्रो प्राथमिकतामा बाँके र दाङको वन क्षेत्रलाई राखिएको निर्देशनालयले जनाएको छ । हुलाकी राजमार्गको बाँकी खण्डका लागि वनसँग समन्वय गर्दा चितवान–नवलपरासी खण्डको वातावरणीय अध्ययन गर्न सहमति दिएको उनको भनाइ थियो ।

यो खण्डमा विस्तृत अध्ययन प्रतिवेदनका लागि फाइल वन मन्त्रालयमा पठाउन लागिएको प्रमुख न्यौपानेले बताए । अहिले त्यो फाइल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय आएको छ ।

आफ्नो मन्त्रालयमा छलफल गरेर सहमतिका लागि वन मन्त्रालयमा पेस गर्ने जानकारी दिँदै उनले भने, “वन मन्त्रालयबाट सहमति भएपछि यो वर्ष ‘डिपिआर’ र ‘इआइए’ गर्न सकियो भने अर्को वर्ष निर्माणमा जान सकिएला ।”

अहिले त्रिवेणीदेखि ठोरीसम्मको खण्डमा अध्ययन गर्न वन मन्त्रालयले सहमति पनि दिइसकेकाले अघि बढाउन लागिएको हो । लुम्बिनी प्रदेशको बाँके, दाङ, र कपिलबस्तुमा पनि वन क्षेत्रका कारण सडक निर्माण हुन सकेको छैन । त्यहाँ अहिले लगानी धेरै नगर्दा पनि त्यो क्षेत्रमा हुलाकी राजमार्गले दिने सेवा फरक नपर्ने प्रमुख न्यौपानेको भनाइ थियो ।