२ अर्बको लागतमा बैजनाथपुरमा क्रिकेट रंगशाला बन्छ : मन्त्री लिम्बू

२ अर्बको लागतमा बैजनाथपुरमा क्रिकेट रंगशाला बन्छ : मन्त्री लिम्बू


विराटनगर ।

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले विराटनगरको बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माण हुने कुरामा विश्वस्त रहन आग्रह गरेका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिले रङ्गशालाका निम्ति ३ करोड बजेट विनियोजन भएको र यसको डिपिआर तयार भइसकेपछि २ अर्ब लागतमा २ वर्षभित्र अत्याधुनिक रंगशाला निर्माण हुने बताए ।

पूर्वप्रधानमन्त्री तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा गिरिजाप्रसाद कोइरालाको नाममा बत्र लागेको रंगशालामा बजेट थोरै भयो भनेर आलोचना नगर्न आग्रह गर्दै मन्त्री लिम्बूले रंगशालामा लाग्ने बजेट विनियोजन हुने र रंगशाला बन्ने बताए ।

मन्त्री लिम्बूले भने, “क्रिकेट मैदान, स्वीमिङ पुल, कभर्डहल, फुटबल मैदानसमेत निर्माण गर्ने भएकाले बैजनाथपुरको रंगशाला खास किसिमको हुने छ ।” मन्त्री लिम्बूले बैजनाथपुरमा रंगशाला बन्दा त्यो क्षेत्रका मानिसको रोजगारी बढ्ने र जमिनको मूल्य बढ्नाका साथै मानिसको जीवन स्तरमा पनि सुधार आउने बताए ।

चीनमा हुने एसियाली खेलकुदमा भाग लिन नेपाली खेलाडीहरु प्रशिक्षणमा रहेको र सबैले आशा गरे जस्तै आफूले पनि त्यहाँबाट खेलाडीले पदक जित्ने विश्वास व्यक्त गरे ।