चाँगुनारायणमा पैसा छाप्ने कारखाना, ५२ लाख नक्कली नोटसहित ९ जना पक्राउ

चाँगुनारायणमा पैसा छाप्ने कारखाना, ५२ लाख नक्कली नोटसहित ९ जना पक्राउ


काठमाडौं ।

काठमाडौं उपत्यकाबाट ५२ लाख भन्दा बढी नेपाली नक्कली नोटसहित ९ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गरेर नक्कली नोट कारोबारीलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका सुशील कार्की, शिव भण्डारी, अर्जुन सुवेदी, मिलन भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र पार्वती नेपाली रहेका छन् ।

उनीहरुको साथबाट ५२ लाख ७५ हजार रुपैयाँ नक्कली नोट बरामद भएको प्रहरीको भनाइ छ ।

चेकजाँचका क्रममा बसको डिक्कीमा राखेको चाउचाउको कार्टुनमा एक हजार दरका ३ हजार ५७३ थान नक्कली नोट फेला परेको हो ।

त्यसकै आधारमा खोजतलास गर्दा गोंगबु बसपार्क र भक्तपुरको चाँगुनारायण नगरपालिका-४ चाँगु बुढाथोकी गाउँबाट थप १७ लाख २ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अर्जुन सुवेदीको चाँगुनारायणमा रहेको डेरामा उक्त गिरोहले नक्कली नोट छाप्ने कार्य समेत गर्दै आएका थिए । प्रहरीले सो कोठाबाट कलर प्रिन्टर एक थान, कम्प्युटर एक थान, मोबाइल १२ थान र चार स्कुटरसमेत बरामद गरेको छ ।